कोरोनाका बीच जीवित देवीको रथयात्रा


सरस्वती कर्माचार्य

कोरोना महामारीका कारण गत वर्ष इन्द्रजात्रामा कुमारी रथयात्रा रोकिएको भए तापनि यो वर्ष कोरोना महामारीकै बीचमा सतर्कतापूर्वक स्वास्थ्य मापदण्ड अपनाएर कुमारी रथयात्रा गरिने भएको छ। इन्द्रजात्रा व्यवस्थापन समितिले यो वर्ष स्वास्थ्य मापदण्ड अपनाएर कुमारी रथयात्रा गरिने भन्दै रथयात्राको क्रममा सडकमा ननिस्किकनै घरैबाट कुमारी देवीको दर्शन गर्न सबैलाई आग्रह गरेको छ।

करिब साढे २ सय वर्षअघि गोर्खाका राजा पृथ्वीनारायण शाहले इन्द्रजात्राकै दिन काठमाडौं आक्रमण गरेर नियन्त्रणमा लिएको भए तापनि कुमारीको रथयात्रा भने रोकिएको थिएन तर कोरोना महामारीका कारण पोहोर साल भने कुमारी रथयात्राकै इतिहासमा पहिलोपटक रथयात्रा रोकियो। काठमाडौंमा अति हर्ष उल्लासका साथ मनाइने येंया पुन्ही अर्थात् इन्द्रजात्राको बीचमा उति नै हर्ष उल्लासका साथ जीवित देवी कुमारीको रथयात्रा गरिन्छ। तर, इन्द्रजात्रा र कुमारी रथयात्राको बीचमा कुनै सम्बन्ध भने छैन।

कुमारी रथयात्राका बारेमा एउटा छुट्टै किंवदन्ती छ। कुमारी रथयात्रा कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले चलाएका हुन् भन्ने भनाइ छ। किंवदन्तीअनुसार राजा जयप्रकाश मल्ललाई सपनामा कुमारीले उनको राज्यभोग समाप्त हुन लागेको जानकारी दिँदै राज्यभोगको अवधि बढाउने इच्छा भए आफ्नो लागि स्थायी बासस्थान बनाई रथयात्रा चलाउनू, त्यति गरे राज्यभोग १२ वर्ष बढ्नेछ भनिछन्। त्यही सपनाको आधारमा राजा जयप्रकाश मल्लले विसं १८१३ को फागुनमा कुमारीघरको जग हालेको र ६ महिनामा निर्माण सम्पन्न गरेको उल्लेख पाइन्छ। कुमारीघरको निर्माण सम्पन्न भएकै वर्षबाट राजा जयप्रकाश मल्लले कुमारीका साथै गणेश र भैरवको रथयात्रा पनि शुरू गराए। त्यसैले कुमारी रथयात्रा अरू रथयात्राभन्दा फरक छ। कुमारी रथयात्रामा कुमारीको मात्र रथयात्रा नगरी कुमारीको रथको सबैभन्दा अगाडि जीवित देव गणेश र गणेशको पछाडि जीवित देव भैरवको रथयात्रा गरिन्छ। कुमारी एक तान्त्रिक देवी हुन्। तान्त्रिक पूजामा कुमारी पूजा अनिवार्य छ। कर्माचन, महाकर्माचन, यार्गाचन, महायार्गाचन र दीप यार्गाचनलगायतका तान्त्रिक पूजाहरूमा कुमारी पूजा अनिवार्य हुन्छ।

काठमाडौंमा कुमारी छनोट नेवार समुदायको शाक्य वंशबाट गरिन्छ। कुमारीघरमा रहेकी कुमारी देवीको रजश्वला शुरु भएपछि वा १२ वर्ष उमेर पुगेपछि कुमारी परिवर्तन गर्ने प्रचलन छ। कुमारी परिवर्तन गर्ने बेला भएपछि २–३ महिना अघिदेखि नै नयाँ कुमारीको खोजी शुरु हुन्छ। काठमाडौंमा रहेको १८ महाविहारमा यसका लागि खबर गरिन्छ। सबै विहारले आफ्नो तर्फबाट शाक्य कुलको निर्धारित लक्षणयुक्त कन्या मनोनित गर्दछन्। यसरी सबै विहारबाट मनोनित भएर आएका ३ वर्षमाथिका कन्याहरूको चिना हेरेर राज ज्योतिषले तलेजु भवानीका पूजारीको सहयोगमा कुनै चोटपटक नलागेको ३२ लक्षणयुक्त कन्याको छनोट गर्दछन्। यसरी छनोट भएकी नयाँ कुमारीलाई उपयुक्त दिनमा तलेजु भवानीको पूजारीसहित राष्ट्रप्रमुखकहाँ लगेर बडादशैंको महाअष्टमीका दिन परिवर्तन गर्ने प्रस्ताव राखिन्छ। त्यसपछि महाअष्टमीको दिन पुरानो कुमारीलाई राजकीय सम्मानका साथ बिदाइ गरेर कुमारीघरमा नयाँ कुमारी प्रतिस्थापन गरिन्छ।

 

कुमारी रथयात्रा प्रत्येक वर्ष भाद्रशुक्ल चतुर्दशीका दिन शुरु भई आश्विन कृष्ण चतुर्थीका दिन समाप्त हुन्छ। रथयात्रामा कुमारीलाई भित्री काठमाडौंको तीनवटा टोल तल्लो टोल (कोहने), माथिल्लो टोल (ठनेचा) र बीचको टोल (नानीचा) को परिक्रमा गराइन्छ। पहिलो दिन कुमारी घर वसन्तपुरमा कुमारीलाई रथारोहण गराई तल्लो टोल अर्थात् मरु टोलबाट जैसीदेवल, ब्रह्मटोल, लगन टोल, कोहिटि, मरुको सिंहसत्तल हुँदै पुनः वसन्तपुरमै रथ वसन्तपुरमै ल्याइन्छ। उक्त दिन राष्ट्रपति र संवैधानिक अंगका व्व्क्तिहरूले कुमारीको दर्शन गर्ने प्रचलन छ।त्यसै गरी, दोस्रो दिन वसन्तपुरबाट प्याफल, नरदेवी, असन, इन्द्रचोक हुँदै पुनः वसन्तपुरमै पुर्‍याएर रथयात्रा टुंग्यान्छ। इन्द्रजात्राको अन्तिम दिन वसन्तपुरबाट नरदेवी, भेडासिं, इन्द्रचोक, हनुमानढोका हुँदै फेरि वसन्तपुर फर्काएर कुमारी रथयात्रा टुंग्याइन्छ। उक्त दिन पनि राष्ट्रपतिले कुमारीको हातबाट टीका ग्रहण गर्ने प्रचलन रहेको छ।

वसन्तपुरस्थित कुमारीघरका प्रतिनिधि गौतम शाक्य यसरी कुमारी रथयात्रा चलाउँदा कुमारीलाई पनि देश दर्शन हुने र कुमारी घरसम्म आउन नसक्ने वृद्धवृद्धा, अशक्तलगायतले पनि कुमारी देवीको दर्शन
पाउने बताउनुहुन्छ।

पूर्वकुमारीलाई भेटीको चोट

झण्डै १२ वर्षअघि कुमारीघर छाडेर सामान्य जीवनमा फर्केकी पूर्वकुमारी प्रीति शाक्य रथयात्राको क्रममा भक्तजनहरूले श्रद्धापूर्वक टाढैबाट हुर्‍याएर चढाएको सिक्का, चकलेट र सम्यबजीले लाग्दा दुखेको बिर्सनुहुन्न।

काठमाडौंको ताम्सीपाखास्थित आफ्नै निवासमा समाचारपत्रसँग कुरा गर्दै उहाँ भन्नुहुन्छ– ‘इन्द्रजात्राको रौनक बेग्लै हुन्थ्यो। रथयात्रा शुरु हुनु अघिदेखि नै निकै रमाइलो महशुस हुन्थ्यो। बाजागाजाका साथ रथमा बसेर शहर घुम्नु र भक्तजन श्रद्धापूर्वक पूजा गर्न आउँदा निकै रमाइलो लाग्थ्यो। तर, त्यति नै बेला टाढाबाट हुर्रिएर आउने सिक्का, चकलेट र सम्यबजीले लागेर दुख्दा भने साह्रै नरमाइलो लाग्थ्यो। हुन त सकेसम्म रथमा भएका दाइहरूले छेकेर जोगाउनुहुन्थ्यो, तैपनि कहिलेकाहीं भने लागिहाल्थ्यो।’

हुन त भक्तजनले कुमारी देवीमाथि आस्था राखेर नै श्रद्धापूर्वक नैवेद्य र भेटी अर्पण गरेका हुन् तर स–सानो कुरामा हेक्का नपु¥याउँदा श्रद्धाले पीडा पुर्‍याइरहेको हामीले पत्तै पाउदैनौं।

पूर्वकुमारी प्रीति राजतन्त्रात्मक राष्ट्रको उनै अन्तिम कुमारी हुनुहुन्छ, जसले गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिलाई टीका लगाउन पाउनुभएन। अन्तिम राजा ज्ञानेन्द्र ५/६ पटक कुमारीका रूपमा आफूलाई दर्शन गर्न आउनुभएको स्मरणमा उहाँमा अझै ताजै छ। त्यति मात्रै होइन, राष्ट्रप्रमुखका रूपमा गिरिजाप्रसाद कोइरालालाई एकपटक टीका लगाइदिनुभएको पनि उहाँले भुल्नुभएको छैन। उहाँ भन्नुहुन्छ– ‘अरू सबैलाई मैले दाहिने हातले टीका लगाइदिन्थे तर राजा ज्ञानेन्द्र र गिरिजाप्रसाद कोइरालालाई भने सम्मानपूर्वक देब्रे हातले लगाइदिएको थिएँ।’ पूर्वकुमारी प्रीतिले पहिलो राष्ट्रपतिलाई टीका लगाउने मौका गुमाउनुभएको थियो अथवा भनौं गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले कुमारीको हातबाट टीका लगाउने पहिलो अवसर गुमाउनुभएको थियो।

२०६५ सालको असोज ३ गते इन्द्रजात्राको अन्तिम दिन थियो। उक्त दिन कुमारीको रथलाई बीचको टोल परिक्रमा गराउने दिन थियो। रथयात्रापछि राष्ट्रपति डा. यादवले कुमारीको हातबाट टीका थाप्न साँझ कुमारीघर आउने कार्यक्रम तय भएको थियो। तर, प्रचण्ड नेतृत्वको सरकारको कार्यवाहक प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अर्थ मन्त्रालयको एउटा पत्रका कारण उक्त कार्यक्रम अवरुद्ध भएको थियो। आर्थिक मीतव्ययिता अपनाउने भन्दै इन्द्रजात्रामा सञ्चालन हुने लाखेआजु, पुलुकिसी र सवःभक्कु गुठी नाचलाई दिँदै आएको खर्च कटौती गर्ने निर्णय गरेको उक्त पत्रले वसन्तपुर क्षेत्रको जात्राको माहोललाई एकाएक आन्दोलनमा परिणत गरेको थियो। सरकारले दिँदै आएको थोरै रकम पनि कटौती गरेको भन्दै गुठीयारका साथै सरोकारवालाहरूले वसन्तपुरमै सांस्कृति आन्दोलन गरेका थिए।

कुमारी रथयात्रा गर्ने वा नगर्ने अन्योलका बीच बेलुका करिब ५ बजे रथयात्रा शुरू भयो तर सरकारसँग झुकेमा संस्कृति मासिन्छ भन्नेको बाहुल्यताले गर्दा ठाउँ–ठाउँमा अवरोध गरिएकाले रथयात्रा प्याफल–यट्खाभन्दा अघि बढ्नै सकेन। बाध्य भएर कुमारीलाई बीच बाटोबाटै फर्काइएको थियो भने राष्ट्रपतिको कुमारीघर आउने कार्यक्रम पनि रद्द भएको थियो। कुमारी रथयात्राको इतिहासमै रथयात्रा पूरा गर्न नपाउने सायद उहाँ नै पहिलो कुमारी पनि हुनुहुन्छ।

कुमारीको दिनचर्याबारे उहाँ भन्नुहुन्छ– ‘प्रत्येक दिन बिहान तलेजु मन्दिरका पूजारी कुमारीको नित्य पूजा गर्न आउने हुँदा बिहान पूजाका लागि कुमारी पहिरनमै तयार भएर बस्नुपर्छ। बिहान ९ बजेदेखि ११ बजेसम्म कुमारी दर्शन गर्न आउने भक्तजनहरूलाई समय दिनुपर्ने हुन्छ। विदेशी पर्यटकका लागि भने कुमारीघरको झ्यालबाटै दर्शन दिनुपर्ने हुन्छ। अपराह्न १२ देखि ४ बजेसम्म चाहिँ कुमारीघरको ढोका बन्द हुन्छ। त्यो बेला १ बजेदेखि ४ बजेसम्म विद्यालयका शिक्षकशिक्षिका कुमारीघरमै आएर पढाउनुहुन्छ। बेलुका ४ देखि ६ बजेसम्म २ घण्टा फेरि पूजा तथा दर्शनकै लागि तयारी अवस्थामा बस्नुपर्छ।’ पूर्वप्राथमिक विद्यालयमा नर्सरी पढ्दापढ्दै साढे ३ वर्षको उमेरमा कुमारी चयन भएकी प्रीतिले ११ वर्षको उमेरमा कुमारीघरबाट बिदा भएपछि पढाइलाई निरन्तरता दिँदै पहिलोपटक विद्यालयमै गएर कक्षा ५ को वार्षिक परीक्षा दिनुभएको थियो। हाल उहाँ बीबीएसको पढाइ सकेर बस्नुभएको छ।

कुमारी हुँदा र पूर्वकुमारी हुँदाको अनुभवबारे सोध्दा उहाँ भन्नुहुन्छ–‘पहिला सबैले पूजा गर्ने अनि विशेष सम्मान गर्ने भएकाले घमण्ड बढी थियो जस्तो लाग्छ, अहिले विस्तारै त्यो घमण्ड हट्दै गएको छ भने पूर्वकुमारीको नाताले अनुशासनमा बस्नुपर्छ भन्ने भाव पलाएको छ।’