खानेपानी उपभोक्ता समूहले मनायो १७ औं वार्षिकोत्सव


नेपाल समाचारपत्र, काभ्रे ।

उपभोक्तामार्फत सञ्चालन भएको पनौती क्षेत्रको पनौती बसपार्क खानेपानी उपभोक्ता समूहले स्थापनाको २०औं वर्षको अवसरमा १७औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । १ सय ८३ वटा धारा रहेको उपभोक्ता समितिमार्फत ५ हजार ९ सय ६३ उपभोक्ताले दैनिक खानेपानी उपभोग गरिरहेका छन् ।

सभामा बोल्दै पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले सडक निर्माणका क्रममा पनौती क्षेत्रमा २३ स्थानमा खानेपानीको पाइपमा क्षति पुगेकाले मर्मतको कार्य भइरहेकोमा ७ स्थानमा मर्मत गरिसकिएको बताउनुभयो । नगरपालिकाले सबै वडाहरुमा एक घर एक खानेपानी अभियानलाई अन्तिम चरण दिइरहेको उहाँको भनाइ थियो ।
खानेपानी उपभोक्ता समूहका अध्यक्ष दिलीपकुमार ताम्राकारले उपभोक्ताहरुको चाहनाअनुसारको खानेपानी उपलब्ध गराई उपभोक्ता

समितिले गुणस्तरीय खानेपानीमा जोड दिएको बताउनुभयो । नगरपालिकाले हरेक वर्ष १० लाख रकम बजेट विनियोजन गरी खानेपानीको ब्यवस्थापनमा सहजीकरण गरिदिएकोमा अध्यक्ष ताम्राकारले नगर प्रमुख न्यौपानेसहित नगरपालिका परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

उपभोक्ता समितिले प्रतिमिनेट ८५ लिटर पानी जम्मा गरी प्रतिघण्टा ४ हजार ९ सय २० लिटर पानी उपभोक्ताहरुलाई वितरण गर्दै आएको कार्यालय सचिव राजकुमार तिमल्सिनाले जानकारी दिनुभयो । प्रतिदिन प्रतिव्यक्ति ५० लिटर पानी उपभोग गरिरहेको समूहको तथ्याङ्कले देखाएको छ । सोही अवसरमा सबैभन्दा कम पानी उपभोग गर्ने उपभोक्ता रुकमणि श्रेष्ठलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

सभामा सचिव हरिप्रसाद तिमल्सिनाले आर्थिक वर्ष २०७७/२०७८ मा उपभोक्ता समितिले ५ सय मिटर मुहानमा पाइपलाईन सुधार गरेको, न्यासिला क्षेत्रको खानेपानी सूचारु गरिएको, कोभिड–१९ का कारण महसुलमा लाग्ने हर्जनामा छुट र समयावादी बढाएको, महसुल भुक्तानीमा उपभोक्ताहरुको सहजताका लागि क्युआर कोड र ई–सेवामार्फत सञ्चालन गरिएको, अग्रिम भुक्तानीको ब्यवस्था गरिएको बताउनुभएको थियो ।

त्यस्तै, कोषाध्यक्ष यज्ञप्रसाद हुमागाईंले १९ लाख ८२ हजार ३ सय १८ रुपियाँ आम्दानी गरी १९ लाख ३५ हजार ५ सय १५ रुपियाँ खर्च भएको सभालाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा समितिका प्रमुख सल्लाहकार लक्ष्मीनारायण ताम्राकार, लेखापरीक्षक महेशकुमार कर्माचार्य, सल्लाहकार तुयुकाजी ताम्राकार, सुभद्रा दाहाल, कानुनी सल्लाहकार सुरेशकुमार ताम्राकार, पत्रकार मोतीराम तिमल्सिनालगायतको उपथिति रहेको थियो ।