तीन दिन दीपावली गरी संविधान दिवस मनाइँदै


बैतडी, (नेस) ।

संविधान दिवस–२०७८ बैतडीमा तीन दिन विभिन्न कार्यक्रम गरी भव्यरूपमा मनाइने भएको छ । चोक–चोकमा नेपालको झण्डा गाड्ने, नेपालको नक्सा बनाउने तथा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ ।

असोज ३ गते परेको दिवसको अवसरमा असोज २, ३ र ४ गते तीन दिनसम्म दीपावली गरिने सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । २ गतेदेखि सम्पूर्ण कार्यालय परिसरमा सरसफाइ गर्ने र तीनै दिनको साँझ दीपावली गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । यहाँका प्रसिद्ध शक्तिपीठमा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्न मन्दिरमा पूजाआजा गर्ने, संविधानको बारेमा बारेमा प्रचारप्रसार गर्न विभिन्न सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण गरिने जनाइएको छ । यसका साथै सबैलाई घरघरमा दिपावली गर्न समेत आग्रह गरिएको छ ।

कोभिड–१९ को संक्रमणका कारण स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी दिवस मनाउन अनुरोध गरिएको छ ।

दशरथचन्दमा दुई दिन बिदा

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशी अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिका–२ स्थित देहिमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा असोज ३ र ४ गते लाग्ने मेलाको लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरप्रमुख नरेन्द्रसिंह थापाका अनुसार असोज ३ र ४ गते नगरपालिकाअन्तर्गत रहेका सबै सरकारी कार्यालय, गैरसरकारी संस्थामा बिदा हुनेछ ।

निङ्गलाशैनी भगवती मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा चिनिन्छ । यहाँ हरेक वर्ष भाद्र शुक्ल त्रयोदशीदेखि शुरू हुने यो जात्रा भाद्र शुक्ल पूर्णिमाका दिन समापन हुने गर्दछ ।

यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलनसमेत रही आएको छ । यो जात्रामा बली दिने चलन नरहेको निङ्गलाशैनी भगवती मन्दिरका मुखिा मानबहादुर बोहराले बताउनुभयो । यो जात्रामा निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

जात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थीह आउने गर्दछन् । यो जात्रामा सोराड र बैतडीको जात्रा आकर्षणको रुपमा रहेको बोहराले बताउनुभयो । यहाँ वर्षमा चारपटक भव्य मेला लाग्ने लाग्ने गर्दछ । असोज र चैतको अष्टमीमा अष्टमी मेला, मंसिर शुक्ल पूर्णिमामा जमानी जात्रा र भाद्र शुक्ल चतुर्दशीमा जात्रा लाग्ने गर्दछ ।

असोज र चैतको अष्टमीको जात्रामा बलि हुने भए पनि जमानी जात्रा र अनन्त चतुर्दशीमा भने बलि दिने चलन रहेको छैन ।