‘तानाशाहलाई ढाल्न कांग्रेससँग मिलेको, एमसीसी पास गर्न होइन’


नेपाल समाचारपत्र, पोखरा। 

योङ कम्युनिस्ट लिग (वाईसीएल) का केन्द्रीय संयोजक सुमन देवकोटाले कांग्रेससँग तानाशाहीको अन्त्य गर्न सहकार्य गरे पनि एमसीसी पास गर्नका लागि गठबन्धन नगरेको बताउनुभएको छ । पोखरामा शनिबार पत्रकार सम्मेलन गर्दै उहाँले नेपालमा क्रूर शासनको दमन चलिरहेकाले लोकतान्त्रिक पार्टीसँग गठबन्धन गरी क्रूरतालाई अन्त्य गरेको बताउनुभएको हो ।

‘तानाशाहलाई ढाल्न र लोकतान्त्रिक विधिबाट जान कांग्रेससँग गठबन्धन भएको थियो । हाम्रो विचार मिल्दैन, चुनावी एजेन्डा मिल्दैन, दुवै पार्टी फरक हो’, उहाँले भन्नुभयो– ‘अहिले पनि एमालेले संसद्मा तुच्छ व्यवहार देखाइरहेको छ । हामी यहींबाट सुधारिन आग्रह गर्दछौं ।’ देवकोटाले ओलीले विधेयक ल्याउँदा गलत र देउवाले ल्याउँदा ठीक नहुने बताउनुभयो । देउवा सरकारसमेत गलत मार्गमा हिँडेको उहाँको भनाइ छ । राष्ट्रिय स्वाधीनता, अखण्डता नै बन्धक राखेर लिने सहयोग वाईसीएललाई स्वीकार्य नहुने उहाँको कथन छ । ‘हामीलाई एमसीसी कुनै पनि हालतमा मान्य हुनेवाला छैन । एमसीसी आएपछि सबै ठीक हुन्छ भन्ने सोच्नुभएको होला, त्यसो हुनेवाला छैन । देशको संविधानविपरीत सबै कुरा बन्धक बनाएर सरकारले के गर्न खोजेको ? अब वाईसीएल चुप बस्ने पक्षमा छैन ।’ देवकोटा बताउनुहुन्छ ।

यसै क्रममा उहाँले गण्डकी प्रदेशमा अब पर्यटकीय विषयको समेत पढाइ हुनुपर्नेमा जोड दिनुभयो । ‘विगतदेखि नै वाईसीएलले पार्टीको नेतृत्वसँग सहकार्य गर्दै आवश्यक सुझाव तथा योजना दिँदै आएको संघ हो । अन्य पार्टीमा जस्तो मुर्दावाद र जिन्दावाद भन्नका लागि मात्रै वाईसीएलको स्थापना भएको होइन । हामी नेतृत्वकारी भूमिकामै चलिरहेका छांै’, उहाँले थप्नुभयो– ‘हामी आउने चुनावमा पनि कांग्रेससँग गठबन्धन गर्नेछौं, तानाशाहीलाई साथ दिँदैनौं ।’

देवकोटाले देशमा भएको भ्रष्टचारलाई अब वाईसीएलले उजागर गर्ने बताउनुभयो । फेवाताल मिच्नेलाई समेत सुखको निद अब नदिने चेतावनीसमेत उहाँले दिनुभयो । फेवाताल तथा सार्वजानिक जग्गा हडपेर बस्नेलाई सडकमा ल्याउने काम वाईसीएलले गर्ने देवकोटाले स्पष्ट पार्नुभयो । आगामी निर्वाचनका लागि वाईसीएलले स्पेसल टास्कफोर्सको गठन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।