पाँच महिनापछि शैक्षिक, धार्मिक तथा तातोपानीका कुण्ड खुला


प्रताप बानियाँ, म्याग्दी ।

कोरोना भाइरस संक्रमणका कारण पाँच महिनादेखि बन्द म्याग्दीका विद्यालय, तातोपानीका कुण्डहरू तथा धार्मिक क्षेत्र खुलेका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी) म्याग्दीको निर्णयअनुसार शुक्रबारदेखि शैक्षिक संस्था, तातोपानीका कुण्ड र धार्मिक क्षेत्र खुला गरिएको हो ।

सरकारले ल्याएको कोभिड–१९ सम्बन्धी सूक्ष्म योजना र ‘स्मार्ट लकडाउन’ को अवधारणाअनुसार विद्यालय खुलाउने निर्णय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो दिनुभयो । जिल्लामा कोरोना संक्रमणको दर घटेकाले जनस्वास्थ्यका सम्पूर्ण मापदण्डहरुको पूर्णरूपमा पालना गर्ने गरी विद्यालय खुला गर्न अनुमति दिइएको उहाँको भनाइ छ ।

डीसीएमसीको बैठकको निर्णयअनुसार जिल्लाका सबै स्थानीय तहमा सञ्चालित विद्यालयहरु पुनः सञ्चालन भएका छन् । गएको वैशाख तेस्रो सातादेखि म्याग्दीका विद्यालय बन्द भएका थिए भने वैशाख २३ गतेदेखि जिल्लामा लकडाउन गरिएको थियो । लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ बिग्रने र अनलाइन कक्षा सञ्चालन गरिए पनि प्रभावकारी नभएपछि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनासहित विद्यालय सञ्चालन गरिएको हो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले विद्यालयको प्रतिबद्धता, स्मार्ट लकडाउनको कार्यविधि, वैकल्पिक शिक्षण सिकाइ कार्ययोजना र डीसीएमसीको निर्णयअनुसार स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गरेर विद्यालय खुलाइएको बताउनुभयो । उहाँले अबदेखि गाउँमा ५ जना, शहरमा ८ जना र व्यक्तिको घरमा एक जनालाई कोरोना संक्रमण देखिएमा सिल गरिने बताउनुभयो । नगरपालिका क्षेत्रमा मात्रै ५६ वटा विद्यालय सञ्चालनमा रहेका छन् ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा सामुदायिक, संस्थागत, क्याम्पस, अनौपचारिक, धार्मिक र संस्कृत गरी कुल २ सय ६९ वटा शैक्षिक संस्था सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख दलबहादुर थापाले बताउनुभयो । । जिल्लामा सामुदायिकतर्फ २ सय ३९, संस्थागततर्फ २३, क्याम्पस चार, अनौपचारिक, धार्मिक र संस्कृतका एक–एकवटा विद्यालय रहेको उहाँको कथन छ ।

यसै गरी, म्याग्दी जिल्लामा रहेका तातोपानीका कुण्डहरु पनि खुलेका छन् । कोरोना भाइरसका कारण गएको वैशाख दोस्रो सातादेखि बन्द कुण्डहरु डीसीएमसीको बैठकको निर्णयअनुसार सञ्चालन गरिएको छ । तातोपानीका कुण्डको कुल क्षमताको आधारमा तत्कालका लागि ५० प्रतिशत बिरामीलाई मात्र स्नान गर्ने गरी सञ्चालन गर्न अनुमति दिइएको प्रजिअ अधिकारीले बताउनुभयो ।
अहिले म्याग्दी जिल्लाभित्रका नागरिकलाई मात्रै तातोपानीका कुण्डमा प्रवेशको अनुमति दिइएको छ । कोरोनाविरुद्धको खोप लगाएको १०

दिन नाघेका, ७२ घण्टाभित्रको पीसीआर तथा एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट भएका जिल्लावासीले तातोपानीका कुण्डहरुमा पुगेर स्नान गर्न पाउनेछन् । तातोपानी कुण्ड व्यवस्थापन समितिले नगरपालिका र जिल्ला प्रशासनमा कुण्ड खुलाउने मागसहित निवेदन दिएको थियो । हिमाली जिल्ला म्याग्दीमा तातोपानीका १४ वटा मुहान तथा कुण्ड रहेका छन् ।

त्यस्तै, जिल्लाका धार्मिक मठ–मन्दिर पनि भक्तजनका लागि खुला गरिएको छ । गलेश्वर मन्दिर, पुलस्त्य पुलहाश्रम, जगन्नाथधाम, मालिका धुरीलगायत जिल्लाको विभिन्न स्थानमा रहेका धार्मिक क्षेत्र भक्तजन र धार्मिक पर्यटकका लागि खुलाइएको हो । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका धार्मिक क्षेत्रमा पनि स्वास्थ्य मापदण्डसहित धेरै भीडभाड नहुने गरी खुला गरिएको छ । जिल्लामा हालसम्म २८ हजार ३ सय ६५ जनाले पूर्णखोप लगाएका छन् भने धवलागिरि गाउँपालिकाको लक्षित समूह सबैले कोरोनाविरुद्धको खोप पाएका छन् ।