फ्रान्सद्वारा अमेरिका र अस्ट्रेलियाबाट राजदूत फिर्ता


पेरिस,(एजेन्सी) ।

फ्रान्सले संयुक्त अधिराज्यसमेत संलग्न रहेको एउटा संयुक्त सुरक्षा सम्झौताको विरोधमा छलफलका लागि संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाउन लागेको शनिबार जानकारी दिएको छ ।

फ्रान्सका विदेशमन्त्री जिन–भेस लि ड्रियनले परिस्थितिको ‘अपवादपूर्ण गाम्भीर्यता’ को कारण यस्तो ‘अपवादपूर्ण निर्णय’ गर्नुपरेको बताएका छन् । अकस नामक उक्त सम्झौताअन्तर्गत अस्ट्रेलियालाई अमेरिकाले पारमाणविक ऊर्जाबाट चल्ने पनडुब्बी निर्माणका लागि प्रविधि दिने भएको छ । यसै सम्झौताका कारण आफ्नो अस्ट्रेलियासँग यसै सम्बन्धमा पहिल्यै तय भइसकेको अर्बौं अमेरिकी डलर बराबरको परियोजना ओझेलमा पर्न लागेकाले फ्रान्स आक्रोसित भएको अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरूको भनाइ रहेको छ ।

वास्तवमा अमेरिका, वेलायत र अस्ट्रेलियाको यो त्रिपक्षीय सुरक्षा सम्झौता विवादास्पद साउथ चाइना सीमा चीनको प्रभावलाई चुनौती दिने उद्देश्यले प्रेरित रहेको बताइएको छ । गत बुधबार अमेरिकी राष्ट्रपति जोबाइडेन, वेलायती प्रधानमन्त्री बोरिस जोहन्सन र उनका अस्ट्रेलियाली समकक्षी स्कट मोरिसनले सो सम्झौता घोषणा गरेका हुन् । सो सम्झौता घोषणा हुनु केही घन्टा अगाडि मात्र फ्रान्सलाई यसबारे जानकारी दिइएको थियो ।