बँदेललाई थापेको पासोमा परेर एकै घरका तीनको मृत्यु


बाँके, (नेस) ।

बर्दियामा जंगली जनावरलाई थापेको पासोमा परेर एकै घरका तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका एसपी ईश्वर कार्कीका अनुसार ठाकुरबाबा–३ गोदानामा बँदेललाई थापेको पासोमा परेर बालकृष्ण थारू, उनकी श्रीमती सुनीता थारू र भाउजू बेलमति थारूको मृत्यु भएको हो ।

राति १० बजेतिर धान खेतमा पुगेका उनीहरु जंगली जनावरलाई थापेको विद्युतीय पासोमा परेका थिए । गोदाना आसपासमा केही दिनदेखि बँदेल र हात्तीले धानखेतमा क्षति पु¥याइरहेको थियो । जंगली जनावरबाट धानलाई बचाउन धानखेत वरिपरि करेन्टको पासो लगाइएको थियो ।

एसपी कार्कीले पासो थापेको आरोपमा राजबहादुर शाहीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिनुभयो । शाहीले आफूले जंगली जनावरबाट धानबाली बचाउन पासो थापेको स्वीकार गर्नुभएको छ ।

निकुञ्जसँगैको जंगलबाट आउने जनावरले आसपासका खेतमा लगाइएको बालीनालीमा क्षति पुर्‍याएको पाइन्छ । पाक्ने बेलाको धानलाई बँदेलले क्षति पुर्‍याउन थालेपछि शाहीले खेतको वरिपरि पासो थापेका थिए । विद्युतीय पासोमा करेन्ट फिट गरिएको थियो । त्यही पासोमा परेर बालकृष्ण थारूका तीन परिवारको मृत्यु भएको हो । करेन्ट लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको एसपी कार्कीले जानकारी दिनुभयो । जंगल आसपासमा कतिपयले बाली बचाउन यस्तो पासो थाप्ने गर्दछन् भने कतिपयले चोरी शिकारीका लागि प्रयोग गर्छन् । शाहीले थापेर आएको पासोमा आफ्नो खेत हेर्न जाँदा थारू परेका छन् ।