रुपन्देहीमा १० वटा व्याडमिन्टन कवर्ड हल, खेलाडी उत्पादन गर्न प्रतियोगिता जरुरी


यमलाल भुसाल , बुटवल ।

मुलुक भर पछिल्लो समयमा कोरोना महामारीले गर्दा खेलकुदका प्रतियोगिताहरु हुन नसकेको समयमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १६ मधवलीयामा व्याडमिन्टन कवर्ड हलको उद्घाटन गरिएको छ । योसंगै रुपन्देहीमा सुविधासम्पन्न व्याडमिन्टन कवर्ड हलको संख्या १० पुगेको छ ।

कोरोनाले हरेक क्षेत्रलाई थला पारेकै समयमा रुपन्देहीमा थप अर्को व्याडमिन्टन कवर्ड हल स्थापना गरी शुभारम्भ गरिएको छ ।रुपन्देहीको तिलोत्तमा १६ स्थित मधवलिया व्याडमिन्टन क्लवले निर्माण गरेको कवर्ड हलको शनिवार एक विशेष समारोहका बिच रुपन्देही क्षेत्र नम्बर १ का संघिय सांसद छविलाल विश्वकर्माले शुभारम्भ गर्नु भएको हो । सो अवसरमा वोल्दै सांसद विश्वकर्माले खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिता अपरिहार्य रहेको भन्दै प्रतियोगिता संचालन गर्न कवर्ड जरुरी रहने औल्याउनु भयो । सवै उम्मेर समुहका खेलाडीले खेल्न मिल्ने खेल व्याडमिन्टन भएको समेत उहाँले औल्याउनु भयो ।

रुपन्देही जिल्लामा पछिल्लो समयमा व्याडमिन्टन खेलप्रति निकै आकर्षण बढेको भन्दै पंचकन्या ईन्डष्ट्रीजका उपाध्यक्ष धु्रव कुमार श्रेष्ठले स्वास्थ्य रहनका लागि खेलकुद अपरिहार्य रहेको औल्याउनु भयो । उपाध्यक्ष श्रेष्ठले मधवलीयामा व्याडमिन्टन कवर्ड हललाई राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न मिल्ने गरि प्याकेटिङ गर्नका लागि अन्तराष्ट्रिय स्त्तरको म्याट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदकी कार्यकारी सदस्य उमा अधिकारीलेखेलकुदलाई राष्ट्रसंग जोडन सक्नु पर्नेमा जोड दिनु भयो ।

मधवलीया व्याडमिन्टन क्लवका अध्यक्ष केशव सिंह चौधरीको अध्यक्षतामा भएको कवर्डहल उद्घाटन तथा दोस्रो साधारण सभामा हेमा बराल, राजेन्द्र गुरुङ विष्णु थापा लगायतले खेलकुद र खेलाडीको संरक्षण र प्रोत्साहनका लागि राज्य गम्भिरहुन जरुरी रहेको धारणा राख्नु भएको थियो ।