एक वर्षमा १ सय ३५ जनाले गरे स्थायी बन्ध्याकरण


मोतीराम तिमल्सिना, काभ्रे  । 

काभ्रेपलाञ्चोक जिल्लाका स्वास्थ्य संस्थाहरुमा एक वर्ष अवधीमा १ सय ३५ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार एक वर्षको अवधीमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा १ सय ३५ जनाले स्थायी बन्ध्याकरण गरेका छन् ।

‘कोभिड १९ का कारण परिवार नियोजन सम्वन्धी स्वास्थ्य सेवा लिने सेवाग्रहिहरुको संख्यामा कमि आएको छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘परिवार नियोजनका अस्थायी र स्थायी सेवा लिने सेवाग्रहिरु कोभिडकै कारण नियमित स्वास्थ्य संस्थामा आउन सकेनन् । तर सेवाप्रदायक संस्थाहरुले भने महामारीका बीच पनि सेवा उपलब्ध गराएका छन् ।’ स्वास्थ्य कार्यालय काभ्रेले ‘कोभिड १९ को महामारी, परिवार योजना सेवा सबैको बराबरी’ भन्ने नाराका साथ आठौ राष्ट्रिय परिवार नियोजन दिवस आयोजना गरेको थियो । सोहि कार्यक्रममा परिवार नियोजन सेवाको प्रभावकारी, सेवाप्रदायक संस्था र सेवाग्रहिहरुले प्राप्त गरेको सेवाका बारेमा छलफल भएको थियो ।

डा. नरेन्द्रकुमार झाले जस्तोसुकै विपत्तिमा पनि स्वास्थ्य सेवाका हरेक कार्यक्रम संचालन गर्नु पर्ने भएकाले काभ्रेपलाञ्चोक जिल्लामा परिवार नियोजन सेवा कठिन परिस्थितिमा पनि संचालन भएको बताउनु भयो । सेवा संचालन गरिए पनि नागरिकहरुमा कोभिड त्रासले सेवा लिने क्रम घटेको डा. झाले बताउनु भयो जिल्लामा आर्थिक वर्ष २०७७-२०७८ को एक वर्षमा तीन वर्षे अस्थायी परिवार नियोजनको सेवा इम्प्लान्ट लिनेहरुको सख्या ३ हजार १ सय ३० रहेको छ । स्वास्थ्य कार्यालय काभ्रेका कृष्ण पोखरेलका अनुसार जिल्लामा इम्प्लान्ट, डिपो, पिल्स, आईयुसिडि, कण्डम लगायतका सामाग्रीहरु प्रयोग भईरहेका छन् ।

सुरक्षित मातृत्व, परिवार नियोजन, नवजात शिशु, किशोर किशोरी सेवा, एचआईभी, यौन रोग, निसन्तान दम्पती सेवा, सुरक्षित गर्भपतन, उमेर ढल्केका महिलाहरुको सेवा, लैङ्गिक हिंसा, स्वास्थ्यमा सुधार, महिला शशक्तिकरण, जीवन बचाउने, आर्थिक समृद्धी लगायतका क्षेत्रमा कार्य गरिरहेको पोखरेलले बताउनु भयो । नेपालमा ४३ प्रतिशत दम्पतीले परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने गरेको तथ्याङ्क छ भने २४ प्रतिशत दम्पतीले प्रयोग गर्न खोजेर पनि सम्भव नभएको बताएका छन् । जिल्लामा एक वर्षको अवधीमा आयुसिडी ३० हजार ५ सय ९७ जनाले लिएका छन् भने पिल्स प्रयोगकर्ताको संख्या २० हजार १ सय ४९ रहेको छ । त्यस्तै डिपो प्रयोग गर्नेहरुको सख्या ८३ हजार ६ सय ३२ रहेको छ । एक वर्षको अवधीमा २ लाख १९ हजार १ सय ५० वटा कण्डम प्रयोग भएका छन् ।

सहभागिहरुले परिवार नियोजन सेवा प्रभावकारी हुन नसक्नुमा अन्धविश्वास कायम रहेको बताएका थिए । समुदायमा महिलाहरुलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको, पुरुषहरुले परिवार नियोजनको स्थायी बन्ध्याकरण गर्न अविश्वास रहेको, समुदाय, जात, धर्मका आधारमा परिवार नियोजन कार्यक्रम प्रभावकारी हुन नसकेको बताईएको छ । विकट क्षेत्रमा अझै पनि दर्जन सन्तान जन्माईरहेका दम्पतीहरुलाई परिवार नियोजन गराउन सामुदायिक वन उपभोक्ता समुहले रकम उपलब्ध गराउन थालेको, परिवार नियोजनका कार्यक्रम प्रभावकारी बनाई सुखी परिवार निर्माण गर्ने अभियानमा सबै पक्ष सक्रिय हुनु पर्ने बतार्ईको छ ।

कार्यक्रममा पब्लिक हेल्थमा अध्ययनरत विद्यार्थीहरु, स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । परिवार नियोजन सेवालाई प्रभावकारी बनाउन र जस्तोसुकै महामारीको समयमा पनि सेवा सूचारु राख्नु पर्ने सहभागिहरुले बताएका थिए ।