पनौती क्षेत्रको उत्कृष्ट बसपार्क खानेपानी उपभोक्ता समुह

उपभोक्तालाई दैनिक प्रति ब्यक्ति ५० लिटर, प्रति घर ६ सय ५५ लिटर पानी


मोतीराम तिमल्सिना, काभ्रे ।

उपभोक्ताहरु मार्फत संचालन भएको पनौती क्षेत्रको उत्कृष्ट पनौती बसपार्क खानेपानी उपभोक्ता समुहले स्थापनाको २० औ वर्षको अवसरमा १७ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले उत्कृष्ट ब्यवस्थापन रहेको उपभोक्ता समितिले एकिकृत खानेपानीको शुरुवात पछि नगर क्षेत्रमा वितरण हुने समग्र खानेपानीको जिम्मेवारीका लागि तयारी रहन अनुरोध गर्नु भयो ।‘पनौती, धुलिखेल र बनेपा नगरपालिकाका लागि केहि वर्ष अघि शुरु भई अन्तिम चरणमा पुगेको बृहत्त एकिकृत खानेपानीको ब्यवस्थापन नगरपालिकाहरु आफु आफुले गर्ने अवस्थामा पनौतीको हकमा पनौती क्षेत्रको उत्कृष्ट खानेपानी ब्यवस्थापन गरिरहेको उपभोक्ता समितिले जिम्मेवारी लिने गरी तयारी अवस्थामा रहन अनुरोध गर्दछु’–नगर प्रमुख न्यौपानेले भन्नुभयो–‘अनुशासित र पारदर्शिता भएको संस्थाहरुको मात्रै निरन्तरता सम्भव छ । उपभोक्ताहरुले नगरपालिकाको दायित्वलाई सहयोग पु-याएकोमा धन्यवाद ।’

सभामा बोल्दै नगर प्रमुख न्यौपानेले सडक निर्माणका क्रममा पनौती क्षेत्रमा २३ स्थानमा खानेपानीको पाईपमा क्षति पुगेकाले मर्मतको कार्य शुरु भएको बताउनु भयो । ‘सडक निर्माण भएका स्थानहरुमा २३ स्थानमा भएको क्षतिलाई ७ स्थानमा मर्मत गरिसकिएको छ’–प्रमुख न्यौपानेले भन्नुभयो-‘मर्मत सम्भार सम्पन्न गरी चाँडै खानेपानी सुचारु गर्ने छौं ।’ नगरपालिकाले सबै वडाहरुमा एक घर एक खानेपानी अभियानलाई अन्तिम चरण दिईरहेको प्रमुख न्यौपानेले बताउनु भयो ।अध्यक्ष दिलिपकुमार ताम्राकारले उपभोक्ताहरुको चाहना अनुसारको खानेपानी उपलब्ध गराई उपभोक्ता समितिले गुणस्तरीय खानेपानीमा जोड दिएको बताउनु भयो । नगरपालिकाले हरेक वर्ष १० लाख रकम बजेट विनियोजन गरी खानेपानीको ब्यवस्थापनमा सहजिकरण गरिदिएकोमा अध्यक्ष ताम्राकारले नगर प्रमुख न्यौपाने सहित नगरपालिका परिवारलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

१ सय ८३ वटा धारा रहेको उपभोक्ता समिति मार्फत ५ हजार ९ सय ६३ जना उपभोक्ताले दैनीक खानेपानी उपभोग गरिरहेको कार्यालय सचिव राजकुमार तिमल्सिनाले जानकारी दिनुभयो । २ वटा विद्यालय, २२ वटा होटल, चिउरा, चामल, दाना मिल ८ वटा, बैक ५ वटा, भैसीपालन ब्यवसाय २ वटा, पाउरोटी उद्योग १ वटा, सहकारी संस्था ११ वटा, फर्निचर ३ वटा र मोटरसाईकल वर्कशप २ वटामा कार्यरत ब्यक्तिहरुले दैनिक खानेपानीको उपभोग गरिरहेको कार्यालय सचिव तिमल्सिनाले बताउनु भयो । उपभोक्ता समितिले प्रति मिनेट ८५ लिटर पानी जम्मा गरी प्रति घण्टा ४ हजार ९ सय २० लिटर पानी उपभोक्ताहरुलाई वितरण गर्दै आएको छ । प्रति दिन प्रति ब्यक्ति ५० लिटर पानी उपभोग गरिरहेको तथ्याङ्कले देखाएको छ । सोहि अवसरमा सबै भन्दा कम पानी उपभोग गर्ने उपभोक्ता रुकमणी श्रेष्ठलाई प्रशंशापत्र सहित सम्मान गरिएको थियो ।

सभामा सचिव हरिप्रसाद तिमल्सिनाले आर्थिक वर्ष २०७७-२०७८ मा उपभोक्ता समितिले ५ सय मिटर मुहानमा पाईपलाईन सुधार गरेको, न्यासिला क्षेत्रको खानेपानी सूचारु गरिएको, कोभिड १९ का कारण महशुलमा लाग्ने हर्जनामा छुट र समयावादी बढाएको, महसुल भुक्तानीमा उपभोक्ताहरुको सहजताका लागि क्यु आर कोड र इ–सेवा मार्फत सञ्चालन गरिएको, अग्रिम भुक्तानीको ब्यवस्था गरिएको बताउनु भयो । कोषाध्यक्ष यज्ञप्रसाद हुमागाईले १९ लाख ८२ हजार ३ सय १८ रुपैया आम्दानी गरी १९ लाख ३५ हजार ५ सय १५ रुपैया खर्च भएको जानकारी दिनु भयो । चालु वर्षका लागि ६४ लाख ५० हजार ७ सय १० रुपैया प्रस्तावित बजेट कोषाध्यक्ष हुमागाईले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा कार्यक्रममा समितिका प्रमुख सल्लाहकार लक्ष्मीनारायण ताम्राकार, लेखापरिक्षक महेशकुमार कर्माचार्य, सल्लाहकार तुयुकाजी ताम्राकार, सुभद्रा दाहाल, कानुनी सल्लाहकार शुरेसकुमार ताम्राकार, पत्रकार मोतीराम तिमल्सिना, संस्थाका उपाध्यक्ष हिरालाल आचार्य, संचालक सदस्य रमा गौतम, उपभोक्ता भैरवप्रसाद बञ्जारा लगायतले खानेपानी उपभोक्ता समिति गठन हुनु अघि देखिका इतिहास, समस्या र समाधानका लागि भएका पहलका बारेमा भनाईहरु राख्नु भएको थियो ।