हत्या आरोपीलाई नियन्त्रणमा लिन खोज्दा झडप, पाँच प्रहरी र स्थानीय घाइते


चितवन ।

पूर्वी चितवनको राप्तीमा शुक्रबार राति एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका-९ शीतलपानीका ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो ।लामाको हत्या आरोपी छिमेकी ५० वर्षीय दशरथ मल्ललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । झडपमा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँचजना प्रहरी र दुईजना स्थानीय घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले बताए ।

शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेका लामालाई मल्लले रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पुरानो रिसइबीका कारण मदिरा सेवन गरी मल्लले लामाको हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिए । हत्या आरोपीलाई नियन्त्रणमा लिनेक्रममा स्थानीयले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्याँस प्रहार गर्नुपरेको उनको भनाइ छ ।

घाइते प्रहरी निरीक्षक खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । शुक्रबार राति नै आरोपी मल्ल र लामा शवलाई भरतपुर ल्याइएको थियो ।