विद्यालय खोल्ने पूर्वाधार


उपत्यकाका अधिकांश स्थानीय तहले विद्यालय खोल्न थालेपछि सरकारले हतार नगर्न भनेको छ । आइतबारदेखि उपत्यकाका विद्यालय खोल्ने तयारी गरिरहँदा सरकारले विद्यालय नखोल्न आग्रह गरेको छ । पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको संख्या बढिरहेको र नेपालको अवस्था हेर्दा तीन दिनदेखि कोरोना संक्रमितको संख्या १ हजार ४ सयभन्दा बढी हुन थालेको अवस्थामा तत्कालका लागि पर्ख र हेरको नीति लिनु अस्वाभाविक होइन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको अवस्था बढ्दै जाने आँकलन गरेकै कारण यस प्रकारको निर्णय लिनु बुद्धिमानी मान्नुपर्दछ ।

भदौ अन्तिम सातादेखि निषेधाज्ञा हटेसँगै सिनेमा हल खुलिसकेको छ । होटल, रेस्टुरेन्ट, फुटसल, सपिङमललगायत अधिकांश भीडभाड हुने क्षेत्र खुल्न थालेको छ । रात्रिकालीन व्यवसाय सञ्चालन भइसकेका छन् । कोभिड संक्रमण कम भएसँगै उपत्यकाका अधिकांश विद्यालयमा दशैंअघि भौतिक रूपमा खुल्ने तयारी भएको छ । यस्तो अवस्थामा विद्यालय खोल्ने वा नखोल्ने भन्ने विषय अन्योल छ । स्थास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसहित मन्त्रालयमा बुधबार बसेको सरोकारवालाको बैठकले विद्यालय खोल्न तत्काल हतार गर्न नहुने सुझाएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, सीसीएमसीका प्रमुख, शिक्षा मन्त्रालयका सचिव, अभिभावक महासंघ, प्याब्सन, एनप्याब्सन लगायतका सरोकारवालासहितको बैठकले दशैंअघि विद्यालय खोल्न नहुने सुझाएका छन् । निजी विद्यालयले भने दशैंअगावै विद्यालय खोल्ने तयारी गरिरहेका छन् । अभिभावकसँग शुल्क उठाउनका लागि मात्रै विद्यालय खोल्ने तयारी गरेको छ । दशैं बिदा हुन २० दिन मात्र बाँकी रहँदा विद्यालय खोल्नुको कारण शुल्क उठाउनकै लागि भएको अभिभावकको आरोप छ । अभिभावक महासंघले अहिलेकै अवस्थामा दशंै र तिहारअघि विद्यालय खोल्न नहुने बताइसकेको छ । उपत्यकाका दुई महानगरसहित ११ स्थानीय तहमध्ये ८ ले विद्यालय खोलिसकेका छन् । काठमाडांै र ललितपुर गरी दुई महानगर र भक्तपुर नगरपालिकाले सरकारी निर्देशनको प्रतीक्षा गरिरहेका छन् । स्मार्ट लकडाउनको अवधारणाअनुसार काठमाडौं उपत्यका रेड जोनमा पर्छ । तैपनि केही निजी विद्यालयले रकम असुल्नकै लागि विद्यालय खोल्न हतार गरिरहेको देखिन्छ । सरकारले विद्यार्थी संख्या कम भएको विद्यालयमा मापदण्ड अपनाएर खोल्ने र धेरै विद्यार्थी भएको विद्यालय बिस्तारै खोल्ने सहमति भएको थियो । तर, स्वास्थ्य र शिक्षा मन्त्रालयका अधिकारीले दशैंअघि विद्यालय खोल्न नहुने बताइरहेका छन् । ललितपुर महानगरपालिकाले विद्यालय प्रशासनले अभिभावकसँग छलफल गरी असोज १ गतेदेखि विद्यालय खोल्न स्वीकृत दिइसकेको छ । तर, सरकारले नहतारिन निर्देशन दिएपछि विद्यालय खोल्ने विषय अन्योलमा देखिन्छ । काठमाडौं महानगरपालिकाको शिक्षा समितिको बैठकले अवस्था विश्लेषण गरेर मात्रै निर्णय गर्नेभएको छ ।

जेहोस्, विद्यालय खोल्न नहुने होइन । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनेजस्तो काम हुनुहुन्न । दशैंसम्म रोकिएर हेर्नु आवश्यक पनि छ । किनभने इन्द्रजात्रादेखि विभिन्न चाडबाडको भीड लागेको अवस्थामा जोखिम बढ्ने कुरालाई नकार्न सकिन्न । केही हप्ता पठाएर यसै पनि विद्यालय बन्द गर्ने नै हो भने दुई–तीन साताका लागि किन हतार गर्ने ?