कांग्रेस महाधिवेशन : नेताहरुको ध्यान प्रतिनिधितर्फ

यसरी निर्वाचित हुन्छ केन्द्रीय कार्यसमिति


रामकृष्ण चापागाईं, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशन प्रक्रिया शुरु भइसकेको छ । ५७ जिल्लाको वडा अधिवेशन सम्पन्न गरिसकेको कांग्रेसको बाँकी २० जिल्लाको वडा अधिवेशन असोज ५ गते हुँदै छ । असोज ९ गते गाउँ÷नगर अधिवेशन गर्न लागेको कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते हुँदै छ भने एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते हुँदै छ । कात्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन गर्न लागेको कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने कार्यतालिका छ ।

महाधिवेशन प्रक्रिया शुरू भएसँगै नेतृत्वका आकांक्षी नेताहरुले भने आफ्नो सम्पूर्ण ध्यान भने नेतृत्व निर्वाचित गर्ने प्रतिनिधितर्फ केन्द्रित गरेका छन् । तल्लो तहमा नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरुको ध्यान वडाबाट आउने क्षेत्रीय प्रतिनिधितर्फ केन्द्रित छ भने केन्द्रीय तहमा नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरुको ध्यान महाधिवेशन प्रतिनिधितर्फ केन्द्रित छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार यसपालि गाउँ/नगर अधिवेशनमा पनि नेतृत्व चयन वडाबाट आएका क्षेत्रीय प्रतिनिधिले गर्ने गरी विधान संशोधन गरिएको छ । यसअघि क्रियाशील सदस्य सबै गाउँ/नगर अधिवेशनका प्रतिनिधि हुने विधानमा व्यवस्था थियो । ७ सय ५३ स्थानीय तहमा असोज ९ गते एकैपटक अधिवेशन गर्ने तयारी गरेको निर्वाचन समितिले जनाएको छ । प्रत्येक वडामा १ सय ५० क्रियाशील सदस्य बराबर ९ जना र थप १ सय क्रियाशील सदस्य बराबर थप ६ जनाको दरले क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् । क्षेत्रीय प्रतिनिधि वडाबाट बढीमा ७५ जनासम्म निर्वाचित हुने व्यवस्था रहेको निर्वाचन समितिको भनाइ छ ।

कांग्रेसमा गाउँ/नगर सभापतिलाई आगामी निर्वाचनमा गाउँपालिका अध्यक्ष एवं नगर प्रमुख उम्मेदवारको प्रमुख दाबेदारका रूपमा हेरिन्छ । जसले गर्दा पनि ७ सय ५३ वटै स्थानीय तहमा सभापतिको दाबेदार नेताहरुले वडामा आफ्नो पक्षको सभापतिसहित क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्न लागिपरेका हुन् । वडा सभापति पनि गाउँ÷नगर अधिवेशनको प्रतिनिधि हुने व्यवस्था छ ।

वडाबाट आएका क्षेत्रीय प्रतिनिधि प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनको पनि प्रतिनिधि भएकाले प्रदेशसभा कार्यसमिति तथा प्रतिनिधिसभा क्षेत्रको कार्यसमिति वडाबाट आउने प्रतिनिधिले नै निर्वाचित गर्ने भएकाले क्षेत्रीय तहका नेतृत्वका आकांक्षी नेताहरुको ध्यान पनि यही वडाबाट आएका प्रतिनिधितर्फ केन्द्रित छ । अधिवेशनमा जिल्ला कार्यसमितिको चयन पनि वडाबाट आएका क्षेत्रीय प्रतिनिधिले गर्ने भएकाले जिल्ला नेतृत्वका आकांक्षी नेताहरुको ध्यान पनि वडाबाट आउने क्षेत्रीय प्रतिनिधितर्फ केन्द्रित गरेका हुन् ।

केन्द्रीय नेतृत्वका आकांक्षी नेताहरुको ध्यान भने महाधिवेशन प्रतिनिधितर्फ केन्द्रित छ । केन्द्रीय कार्यसमिति निर्वाचित गर्न प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जनाको दरले महाधिवेशन प्रतिनिधि आउँदै छन् । महाधिवेशन प्रतिनिधि पनि वडाबाट चुनिएर आउने क्षेत्रीय प्रतिनिधिले नै निर्वाचित गर्ने व्यवस्था छ । केन्द्रीय नेतृत्व दाबी गर्दै उम्मेदवार घोषणा गरेका तथा उम्मेदवारी घोषणा गर्ने क्रममा रहेका शीर्ष नेताहरु मात्र होइन केन्द्रीय सदस्यका आकांक्षी नेताहरुको पनि सम्पूर्ण ध्यान अहिले महाधिवेशन प्रतिनिधितर्फ केन्द्रित छ । आफ्नो पक्षका महाधिवेशन प्रतिनिधि बढीभन्दा बढी निर्वाचित गर्ने उद्देश्यका साथ कांग्रेसको गुटमात्र होइन प्रभावशाली नेताहरुको थप उपगुटसमेत वडा तहदेखि नै क्रियाशील भएको देखिन्छ ।

१४औं महाधिवेशनबाट पुनः नेतृत्व लिने रणनीतिमा लाग्नुभएका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिमात्र हैन सभापतिको उम्मेदवारी दिने बताउँदै आएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. शेखर कोइरालालगायतका शीर्ष नेताले पनि छुट्टै सम्पर्क कार्यालय खोलेर अहिले आफ्नो सम्पूर्ण शक्ति महाधिवेशन प्रतिनिधितर्फ केन्द्रित गर्न थालेका छन् । सभापति देउवा र निधिले त महाधिवेशन लक्षित सचिवालय नै स्थापना गरेर १ सय ६५ निर्वाचन क्षेत्रमै आफ्नो पक्षमा कसलाई महाधिवेशन प्रतिनिधि निर्वाचित गरी ल्याउने भन्ने रणनीति बनाउन कर्मचारी, नेता, कार्यकर्ता परिचालन गरिसकेका छन् ।

यसरी निर्वाचित हुन्छ केन्द्रीय कार्यसमिति

अघिल्लो अधिवेशनमा आमन्त्रितसहित १ सय ३५ सदस्यीय केन्द्रीय समिति रहेको कांग्रेसको यो अधिवेशनमा १ सय ६१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने गरी विधानमा व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय समितिमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठ गरी प्रत्यक्ष निर्वाचित १३ पदाधिकारी हुन्छन् । सहमहामन्त्रीको निर्वाचन भने समानुपातिक एवं समावेशी सिद्धान्तको आधारमा हुनेछ । १४औं महाधिवेशनका लागि संशोधन गरिएको विधानमा महिला कोटाबाट एक, आदिवासी जनजाति कोटाबाट एक, दलित कोटाबाट एक, मधेसी कोटाबाट एक, खस आर्य कोटाबाट एक, थारू कोटाबाट एक, मुस्लिम कोटाबाट एक र पीछडिएको क्षेत्रबाट एक जना गरी आठ जना सहमहामन्त्री हुने व्यवस्था छ । पदाधिकारीका रूपमा रहने कोषाध्यक्ष भने निर्वाचित सदस्यमध्यबाट सभापतिले मनोनित गर्ने व्यवस्था छ । केन्द्रीय सदस्यहरुमा प्रत्यक्ष निर्वाचित कोटा ३५ जना छ भने प्रत्यक्ष निर्वाचित महिला कोटा ९ जना रहेको छ ।

प्रत्येक प्रदेशको प्रतिनिधित्व हुने गरी प्रदेश कोटाबाट एक महिलासहित तीन जनाको दरले २१ जना निर्वाचित हुन्छन् । १४औं महाधिवेशनमा समानुपातिक समावेशीको सिद्धान्तका आधारमा निर्वाचित हुने केन्द्रीय सदस्यको संख्या ५४ जना रहेको छ । समानुपातिक समावेशीको आधारमा निर्वाचित हुने ५४ जनामध्ये दलित महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९ जना हुन्छन् भने आदिवासी जनजाति महाधिवेशन प्रतिनिधिबाट ७ महिलासहित १५ जना निर्वाचित हुने व्यवस्था छ ।

यसै गरी, खसआर्य महाधिवेशन प्रतिनिधिमध्येबाट ६ महिलासहित १३, मधेसी महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९, थारू महाधिवेशन प्रतिनिधिमध्येबाट २ महिलासहित ४, मुस्लिम महाधिवेशन प्रतिनिधिमध्येबाट १ महिलासहित ३ र पीछडिएको क्षेत्रबाट आएका महाधिवेशन प्रतिनिधिमध्येबाट १ जना केन्द्रीय सदस्यमा निर्वाचित गरिने विधानमा व्यवस्था गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा अल्पसंख्यक र अपांगता भएको कोटाबाटा २ जना निर्वाचित हुने व्यवस्था छ । केन्द्रीय सभापतिले समावेशी हुने गरी ३३ जना सदस्य मनोनित गर्न पाउने व्यवस्था छ । सभापतिले केन्द्रीय सदस्य मनोनित गर्दा केन्द्रीय कार्यसमितिमा एक तिहाइ महिला पुर्‍याउनुपर्ने कुरालाई मुख्य ध्यान दिनुपर्ने छ ।