दार्चुलामा यस वर्ष सेनाले ७ किलोमिटर सडक निर्माण गर्ने


किरन धामी, दार्चुला ।

सुदुरपश्चिम प्रदेशको हिमाली जिल्ला दुई ठुला शक्तिशाली राष्ट्र भारत र चिन संग सिमा जोडिएको दार्चुला जिल्लामा पर्ने सामरिक महत्व बोकेको दार्चुला–तिंकर सडक निर्माणको थालनी नेपाली सेनाले गरेको छ । ब्याँस गाउँपालिका–२ मा पर्ने कोठेधार देखी वडा नम्बर १ तिंकरसम्मको ७४ किलोमिटर सडक निर्माणको काम भदौ २४ गतेबाट नेपाली सेनाले गरिरहेको सेनाका सुचना अधिकारी सन्तोष बल्लब पौडेलले जानकारी दिनुभयो ।

भदौको पहिलो साता देखी नै सडक निर्माणको काम सुरु गर्ने भनिए पनि सडक निर्माणमा प्रयोग हुने निर्माण सामाग्री ढुवानी गर्न नसक्दा ढिलो गरी काम संचालनमा आएको उहाले बताउनुभयो । दार्चुला–तिंकर सडकको सुन्सेरा सम्म ट्रयाक खुलेको भए पनि वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएर अबरुद्ध भए पछि निर्माण सामाग्री ढुवानीमा समस्या आएको नेपाली सेनाले जनाएको छ ।भदौ २१ गते दुहुँ र ब्याँसमा खाद्यान्न ढुवानीका लागी आएको नेपाली सेनाको हेलिकप्टरले सडक निर्माणमा प्रयोग हुने सामान सुन्सेरा ढुवानी गरेको थियो । चट्टानी भु–भाग तोड्न प्रयोग गरिने जिलेटिन र कम्प्रेसर मेसिन सेनाको हेलिकप्टरले निर्माण स्थलहरु कोठेधार र दुम्लिङमा झारेको थियो । कोठेधारबाट र माथी तथा दुम्लिङबाट तल सडक जोड्ने गरेर निर्माण कार्य भइरहेको सेनाले जनाएको छ । नेपाली सेनाले यस वर्ष ७ किलोमिटर सडक निर्माण गर्ने जनाएको छ ।

यस वर्ष सडक निर्माणका लागी २२ करोड ५० लाख बजेट प्राप्त भएको बताइएको छ ।प्रयाप्त बजेट प्राप्त भए सडक निर्माण चाडै सम्पन्न हुने स्रोतले बताएको छ । ब्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेरा र वडा नम्बर २ दुम्लिङमा क्याम्प निर्माण गरि सेनाको निर्माण कार्यदलको टोली यस अघि नै बसिसकेको छ । सुरुमा कोठेधार देखी तिंकर सम्म सेनाले निर्माण गर्ने सडकको लम्बाई ८७ किलोमिटर भनिए पनि डिपिआर निर्माणका लागी सर्वे गर्दा १३ किलोमिटर घटेर ७४ किलोमिटर आएको बताइएको छ ।