माधव नेपालसहित १४ सांसदविरुद्ध एमालेले दायर गरेको मुद्दाको सुनुवाई भएन


न्युज अफ नेपाल ,काठमाडौं ।

माधवकुमार नेपालसहित १४ जना सांसदलाई दल विभाजनमा सनाखत गराएको विरोधमा नेकपा एमालेले दायर गरेको रिटमाथि सोमबार सुनुवाइ भएन । सर्वोच्च अदालतका न्यायाधीश दीपक कार्की र मीरा खड्काको सँयुक्त इजलासमा सो रिट सुनुवाइका लागि पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको हो ।

तत्कालीन एमालेका सांसदहरु माधवकुमार नेपाललगायत १४ जना सांसदलाई एमालेले कारबाही गरेको थियो । तर सभामुख अग्नि सापकोटाले उनीहरु पदमुक्त भएको सूचना प्रकाशित नगर्दै उनीहरुले एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए । सो निवेदन अनुसार निर्वाचन आयोगले एमालेले कारबाही गरेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी लाई दर्ता गर्दै वैधता दियो ।

सोही प्रकरणमा एमालेले आफूले पार्टीबाट कारबाही गरिसकेका व्यक्तिले दल विभाजन गराएको भन्दै दल दर्ता गर्ने निर्वाचन आयोगविरुद्ध रिट दायर गरेको छ ।