स्रोत नखुलेको रकमसहित एक जना पक्राउ


पर्सा ।

वीरगंजबाट स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-२ बस्ने ४३ वर्षीय महमद आसिफ अंसारीलाई स्रोत नखुलेको नगद ५ लाख रुपैयाँ सहित सोही महानगरपालिका(१७ शंकराचार्य गेटबाट आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना.२५ प ८७६२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा अंसारीले हेल्मेटभित्र ल्याएको उक्त रकम सहित फेला पारी मोटरसाइकल सवार उनलाई पक्राउ गरेको हो ।

उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।