एमालेले माग्यो सभामुखको राजीनामा , सर्वदलीय बैठकमा नजाने


न्युन अफ नेपाल, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको राजीनामा मागेको छ । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै आएको एमालेले प्रतिनिधिसभा लगातार अवरोध गरिरहेको छ ।

संसदको अवरोध खुलाउन विषयमा सभामुख सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका छन् । सो बैठकमा पनि एमाले नजाने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा गएर केही उपलब्धि नहुने भएकाले आफूहरु बैठकमा नजाने बताए ।

भदौ १ गते एमालेले साउन २५ को निर्णय भन्दै माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरिएको सूचना संसद सचिवालयमा दर्ता गराएको थियो ।  निर्वाचन आयोगले एमाले विभाजन गरेर बनेको दललाई वैधता दिएपछि सभामुख सापकोटाले ती १४ जना सांसदलाई कारबाही गरिएको सूचना प्रकाशित गर्नुनपर्ने निर्णय लिए । यही विषयलाई लिएर एमालेले सभामुखले एमाले विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आएको छ ।यो प्रकरणमा एमालेले १४ जना सांसद विरुद्ध सर्वोच्चमा मुद्दा पनि दायर गरेको छ । सोमबार सो मुद्दाको सुनुवाइ हुँदैछ ।