माथिल्लो तामाकोशीको बिजुली बेच्न भारतमा बजार खोजिँदै

364
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

बर्खामा खपत गरी बढी भएको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयात गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले भारतको बिहार राज्यसँग मौसमी विद्युत् आदान–प्रदानका निम्ति प्रस्ताव गरेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् देशभित्र खपत गरेपछि बर्खामा खेर जाने अवस्था आएको हुँदा प्राधिकरणले बिहार स्टेट पावर होल्डिङ कम्पनीसँग सो प्रस्ताव गरेको हो ।

सन् १९७१ देखि नेपाल र भारतबीच विद्युत् आदान–प्रदान हुँदै आएको छ । छ महिना नेपालबाट बिहार पठाउने र छ महिना उताबाट विद्युत् ल्याउने गरी प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । ‘बर्खामा २४सैं घण्टा २ सय मेगावाट तथा राति ११ बजेदेखि विहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको छ, ल्याउँदा र पठाउँदा परिमाण फरक परेमा उपयुक्त विधिमार्फत् विद्युत्को मूल्य तय गरिनेछ,’ घिसिङले बताउनुभयो ।

उहाँका अनुसार विद्युत् आदान प्रदानको मोडेल कार्यान्वयनमा ल्याउन सकिएमा दुई मुलुकबीच विद्युत् कारोबारको कोशेढुंगा हुने छ, यसमा भारतीय पक्षको जवाफ सकारात्मक पाएकाले केही दिनभित्रै ठोस निर्णय आउने विश्वास रहेको घिसिङले जानकारी दिनुभयो । यस वर्ष ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिब ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिने क्षमता छ ।

अहिले बिहारसँग जोडिएका ३३ र १३२ केभीका प्रसारण लाइन पूर्वाधारबाट ३७१ मेगावाटसम्म विद्युत् आदान प्रदान गर्न सकिन्छ । प्राधिकरणले कटैया, रक्सौल, ढल्केबर–मुजफ्फरपुर, रामनगर विन्दुबाट २४सै घण्टा विद्युत् नर्थ बिहार पावर डिष्ट्रिब्यूसन कम्पनीलाई उपलब्ध गराउन सकिने जानकारी गराएको छ । विद्युत् बजार खोज्ने विषयमा छलफल गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारी र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर राजु महर्जन भारत भ्रमणमा गएको छ । प्राधिकरणले अहिलेसम्म ३ सय ४६ आयोजनाहरुसँग ६ हजार १ सय ७६ मेगावाटको पीपीए गरेको छ । यसमध्ये १ सय ११ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् । आयोजनाहरुको जडित क्षमता १ हजार ३ सय मेगावाट छ । ३ हजार ३४ मेगावाट जडित क्षमता भएका १ सय ३६ आयोजनाहरु वित्तीय व्यवस्वस्थापन गरी निर्माणाधीन छन् । १ हजार ८ सय ४१ मेगावाट जडित क्षमताका ९९ आयोजनाहरु वित्तीय व्यवस्थापन गर्ने प्रक्रियामा रहेका छन् ।