मलेसिया गएका युवा १६ बर्ष देखि ‘बेपत्ता’


दुर्गाप्रसाद शर्मा, पर्वत  । 

रोजगारीका लागि मलेसिया जानुभएका पर्वतको महाशिला गाउँपालिका वडा नं. १ होश्राङ्दी अर्गाउदीका सर्वजित सुनार विगत १६ बर्षदेखि बेपत्ता हुनु भएको छ।

धन कमाउन भनेर मलेसिया गएका परिवारका साहिला छोरा सर्वजीत मलेसिया पुगेपछि परिवारको सम्पर्क बिहीन हुनुभएको हो । उहाँ ०६२ सालमा मलेसिया जानु भएको हो ।राम्रो लाउने मिठो खाने सपना बोकेर बिदेश पठाएको छोरा बेपत्ता बनेपछि परिवार चिन्तित बनेका छन । छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमाया बिकले सबैलाई अपिल गर्नुभएको छ ।

‘धन कमाउला भनेर बिदेश पठाएको छोराको कुनै खबर नपाउँदा हामी असाध्यै पिडामा छौ।’ आमा बिष्णुमायाले भन्नुभयो ‘धन कमाउने, मिठो लाउने, राम्रो लगाउने कुरा त सपना नै भयो, उल्टै छोराको पिरले भोकनिद्रा हराएको छ ।’मलेसिया गएको ४ बर्षसम्म सर्बजितले फोन सम्पर्क गरिरहेको उहाँले बताउनुभयो । त्यसपछि कुनै सम्पर्क नै भएको छैन । अहिले कहाँ कस्तो अवस्था छ, कुनै आपत विपत्ति परेर हो कि अथवा केही भयो कि? छोराको अवस्था थाहा पाउन नसकेपछि हामी सारै पिरमा परेको उहाँको भनाई छ । लामो समयसम्म पनि छोरा घर नफर्केपछि छोराको वियोगमा आमा हरेक बिहान, दिनरात रुने, मुर्छित हुने गरेको बेपत्ता सर्वजितकी भाउजू सम्झना बिक बताउनुहुन्छ ।

१६ बर्ष अघि काठमाडौं मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको सर्वजितका आफन्त तथा जिल्ला समन्वय समिति पर्वतका सदस्य बिष्णुराम बिकले बताउनुभयो । ४ बर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहाँबाट सम्पर्क बिहिन भएको उहाँको भनाई छ । सर्वजितलाई बिदेश पठाएको मेनपावर अहिले बन्द भएको छ । हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागेको बिकले बताउनुभयो । बिक परिवार अझैपनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेका छन् । छोरा गएको ठाउँ मलेसिया लगायत सबैतिर खोजिदिन परिवारले आग्रह गरेका छन् ।