संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक


न्युज अफ नेपाल कठमाडौं ।

प्रहरीले संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ ।

गत सोमबार उम्लिङमा तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।

कार्कीलाई शनिबार पक्राउ गरिएको थियो । नातामा भतिज पर्ने छिमेकी लोकबहादुरलाई प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हाे  ।

लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्या गरिएका व्यक्तिहरुको टाउकोमा गहिरो चोट लागेको पाइएको छ । हत्या गर्ने क्रममा टाउकोमा नै प्रहार गरको पाइएको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार कार्की डिप्रेशनको औषधि खाइरहेका थिए ।