२०७५ जेठ २ अघि फर्कियो एमाले मकवानपुर



हेटौंडा, (नेस) ।

नेकपा एमाले मकवानपुरले १० बुँदे सहमति कार्यान्वयन गर्दै ३ सय २९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ । एक पार्टी प्यालेसमा शनिबार भएको जिल्ला बैठकले तत्कालीन उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा कमिटी गठन गरेको हो ।

कमिटी उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा एकालाल श्रेष्ठ र सहसचिवमा लालबहादुर थापा चयन हुनुभएको छ । बैठक २०७५ जेठ २ अगाडिको कमिटी र त्यसपछि गठित कमिटीको भएको थियो । २०७५ जेठ २ अघिकी एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देलले पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेपछि पुरानो संरचनाअनुसार जिल्ला उपाध्यक्ष लम्सालको अध्यक्षतामा बैठक बसेको हो ।

नेकपा एमाले मकवानपुरले पार्टी एकतालाई थप मजबुत बनाउन आवश्यक गृहकार्य गर्दै पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा नेकपा एमालेका पोलिटब्युरो सदस्य काशीनाथ अधिकारी, एमाले बागमती प्रदेश कमिटी सहइञ्चार्ज डोरमणि पौडेल र पार्टी प्रदेश संगठन विभाग प्रमुख अनन्त पौडेललगायत नेताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्