महामन्त्रीमा विश्वप्रकाशको उम्मेदवारी घोषणा


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । कांग्रेसलाई लगातार तीनवटा आम निर्वाचनमा विजयी हुने पार्टी बनाउने उद्देश्यका आफू नेतृत्वमा जान लागेको उल्लेख गर्दै उहाँले बीपी स्मृति दिवसको अवसर पारी सुन्दरीजलबाट उम्मेदवारी घोषणा गर्नुभएको हो ।

बीपी कोइरालाले लामो समय जेलजीवन बिताएको ठाउँ सुन्दरीजलमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै प्रवक्ता शर्माले लगातार १५ वर्ष शासन गरी नेपाललाई समृद्ध बनाउने जननायक बीपी कोइरालाको इच्छा पूरा गर्न आफू नेतृत्वमा जान लागेको बताउँदै महामन्त्री बनेपछि कांग्रेसलाई लगातार तीन निर्वाचन जित्ने पार्टी बनाउन भूमिका खेल्ने बताउनुभएको थियो ।

विगत हेर्दा कांंग्रेसले एउटा निर्वाचन जित्ने अर्को हार्ने भइरहेको बताउँदै प्रवक्ता शर्मा भन्नुहुन्छ– ‘नेपाली कांग्रेसले २०४८ सालको निर्वाचन जितेको छ भने २०५१ सालको निर्वाचन हारेको छ । २०५६ सालको निर्वाचन जितेको छ भने २०६४ सालको निर्वाचन हारेको छ । त्यस्तै, कांग्रेसले २०७० सालको निर्वाचन जितेको छ भने २०७४ सालको निर्वाचन हारेको छ ।’ कांग्रेसले एउटा निर्वाचन जित्ने एउटा हार्ने भइरहेका कारण मुलुकमा विकासले गति लिन नसकेको उहाँको भनाइ थियो ।

पार्टीभित्रका साथीहरुको चाहना र भावनाअनुसार मैले १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने घोषण गरेको भन्दै प्रवक्ता शर्माले कांग्रेसभित्र आन्तरिकरूपमा पनि एकले अर्कोलाई स्वीकार्ने संकल्प गर्नुपर्ने बताउनुभएको छ । नेविसंघको केन्द्रीय अध्यक्षसमेतको जिम्मेवारी सम्हालिसक्नुभएका शर्मा १३औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले प्रवक्ताको जिम्मेवारी दिनुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा निवासी प्रवक्ता शर्मा कांग्रेसभित्र युवा पुस्ताको प्रभावशाली नेताका रूपमा चिनिनुहुन्छ ।

विधि, पद्धति र उमेरको आधारमा पार्टी सञ्चालन गर्नुपर्ने मान्यता राख्ने प्रवक्ता शर्मा कांग्रेसभित्र नयाँ ऊर्जाका साथ युवाहरुको उपस्थिति बढिरहेकाले नेतृत्वमा आफ्नो दाबी स्वाभाविक भएको बताउनुहुन्छ । यसअघि युवा नेताका रूपमा परिचित गगन थापाले पनि महामन्त्रीको उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

जननायक बीपी कोइरालालाई बन्दी बनाइएको सुन्दरीजल जेललाई अहिले बीपी संग्रहालयका रूपमा रुपान्तरण गरिएको छ । २०१७ साल पुस १ गते बीपीलाई तत्कालीन शासकले आठ वर्षसम्म बन्दी बनाएर सुन्दरीजल जेलमा राखिएको थियो । त्यसपछि लामो समय भारतमा निर्वासित जीवन बिताउनुभएका बीपी २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीति लिएर स्वदेश फर्कनुभएको थियो । उहाँ स्वदेश फर्किएलगत्तै देशद्रोहको मुद्दा लगाएर फेरि सुन्दरीजल जेलमा राखिएको थियो ।

सुन्दरीजल जेललाई २०६१ भदौ २४ गते बीपी संग्रहालयमा रूपान्तरण गरिएको हो । बीपीको १०८औं जन्मजयन्तीको अवसरमा प्रवक्ता शर्माले बीपीको शालिकमा माल्यार्पण गर्नुका साथै बीपीले रोपेको कपूरको रुखमा जलसेचनसमेत गर्नुभएको थियो ।