नेपालको पीएनजीमाथि २ विकेटको जित


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई दुई विकेटले पराजित गरेको छ ।

नेपालले १ सय ३५ रनको सामान्य विजयी लक्ष्य ३९.३ ओभरमा ८ विकेट गुमाएर भेटाएको हो । नेपाललाई जित दिलाउन पुछारका ब्याटसम्यान रोहित कुमार पौडेल र सोमपाल कामीको धैर्यपूर्ण ब्याटिङ सहयोगी बन्यो । रोहितले ६५ बलमा ४१ रन बनाए । उनको ब्याटिङमा दुई चौका मात्रै सामेल थिए । यो नेपाली टोलीको तर्फबाट व्यक्तिगत उच्चतम योगदानसमेत साबित भयो । यस्तै, सोमपालले ३२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २२ रनमा नटआउट रहे । विक्रम सोब शून्यमा नटआउट रहे ।

नेपाली टोली सातौं विकेट ८२ रनको लागि गुमाएपछि समस्यामा परेको थियो । तर, रोहित र सोमपालले आठौं विकेटका लागि अर्धशतकीय साझेदारी गरेर १ सय ३४ रनमा पुर्‍यएर स्कोर बराबरी गरे । रोहित र सोमपालले ५२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । रोहित विजयी रन लिने क्रममा आउट भएका थिए । उनलाई गउडी टोकाले बोल्ड गरेका थिए । अर्को बलमा एक रन लिएपछि नेपालले जित हात पार्न सफल भयो ।

ओपनरद्वारा राम्रो शुरुआत

ओपनर आसिफ शेख र कुशल भुर्तेलले नेपालको ब्याटिङको प्रारम्भ गरेका थिए । उनीहरूले पहिलो विकेटका लागि ११.१ ओभरमा ४६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो शुरुआत दिलाए । तर, कुशल आउट भएपछि नेपालको ब्याटिङ धराशायी बन्दै गएको थियो । कुशल १५ रन बनाएर आउट भएका थिए । उनले २८ बलमा २ चौका प्रहार गरेका थिए । त्यसपछि नेपालले तीन रन जोड्दा अर्का ओपनर आसिफ शेखलाई गुमायो । उनी ४६ बलमा ४ चौकाको सहयोगले ३० रनमा हुँदा क्याच आउट भए ।

ज्ञानेन्द्र र शरद चलेनन्

कप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा आए तर, उनी आए गएको चरितार्थ गर्दै छिटै पभेलियनतिर फर्केका थिए । नेपालको स्कोर ६० हुँदा आउट भएका ज्ञानेन्द्रले मात्र ६ रन जोडे । जबकि, उनले २० बलको सामना गर्दा कुनै बललाई बाउन्ड्री पार गर्न सकेनन् । अर्को दुई रन जोड्दा नेपालले चौथो विकेट पनि गुमायो । आरिफ शेख ९ रन बनाएर पभेलियन फर्केका थिए । अनुभवी ब्याटसम्यान शरद भेषवाकरले पनि ज्ञानेन्द्र पथ नै समाते । उनी पनि ६ रनमै आउट भएका थिए । त्यतिबेलासम्म नेपाल ५ विकेटको क्षतिमा ७८ रनमा थियो ।

८२ रनमा पुग्दा कुशल मल्ल र पवन सरार्फ आउट भए । उनीहरूलाई टोकाले एउटै ओभरमा आउट गरेका थिए । कुशलले १ रन बनाए भने पवन गोल्डे डकमा आउट भएका थिए । २८ ओभरमा ८२–७ को स्कोर रहेको नेपाली टोली सम्भावित हारतिर अग्रसर थियो । तर, रोहित र सोमपालले सुझबुझका साथ ब्याटिङ गरेर नेपाललाई जित दिलाएका थिए । पीएनजीका बलरमा टोकाले तीन विकेट लिए भने डेमियन राभु र चाद सोभरले २/२ विकेट हात पारेका थिए । एक विकेट नोसाइना पोकानाले लिए ।

यसअघि, अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ गरेको पीएनजी ३३ ओभरमा १ सय ३४ रन बनाएर अल आउट भएको थियो । पिएनजीका ओपनर लेगा सियाकाले सर्वाधिक ३० रनको योगदान दिए । अन्य ब्याट्सम्यानमा टोकाले २२ रन बनाए भने बाँकीले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाली बलरमा सन्दीप लामिछाने नै सबैभन्दा धेरै सफल भए । उनले ४ विकेट लिएका थिए ।

विक्रमले पहिलो सफलता दिलाए

नेपाललाई शुरुआतीमै विक्रम सोबले सफलता दिलाए । विक्रमले दोस्रो ओभरको पहिलो बलमै ओपनर टोनी उरालाई एक रनमा बोल्ड गरेका थिए । योसँगै विक्रम एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यू खेलको पहिलो बलमै विकेट लिने नेपालका पहिलो बलर बने । समग्रमा उनी ओडिआई करिअरको पहिलो बलमै विकेट लिने विश्वकै २८औं बलर बनेका छन् ।

यस्तै, विक्रमले चौथो ओभरको अन्तिम बलमा कप्तान असाद भालालाई आरिफ शेखबाट ४ रनमा क्याच गराउँदै नेपाललाई दोस्रो सफलता दिलाए । त्यसपछि, तेस्रो विकेटका लागि लेगा सियाका र चाल्र्स अमिनीले ५० रनको साझेदारी गर्दै ब्याटिङ उकासेका थिए । यो जोडी लेग स्पिनर सन्दीपले तोडेका थिए । उनले २३ बलमा २३ रनै जोडेका चाल्र्सलाई आरिफ शेखबाट क्याच आउट गराएका थिए ।

लगत्तै, अर्को ओभरमा ओपनर लेगा पनि पभेलियनतर्फ लागे । उनलाई व्यक्तिगत ३० रनमा कुशल मल्लले आफैंले क्याच गर्दै आउट गरेका थिए । लेगाले ३८ बलमा १ चौका र १ छक्का प्रहार गरेका थिए । त्यसपछि सन्दीपले सेसे बाउलाई कुशलबाट व्यक्तिगत १४ रनमा क्याच आउट गराए । बाउले २४ बलमा २ चौका प्रहार गरे । कुशलले विकेटकिपर किप्लिङ डोरिगालाई कुशल भुर्तेलबाट १५ रनमा क्याच गराए ।

यस्तै, सन्दीपले जेसन किलालाई शून्यमा एलबिडब्लू आउट गर्दा पिएनजी २३.३ ओभरमा ९७–७ को कमजोर अवस्थामा पुगेको थियो । सोमपालले टोकालाई भुर्तेलबाट २४ रनमा क्याच आउट गराउँदै नेपाललाई आठौं सफलता दिलाएका थिए । टोकाले २९ बलमा २ चौका प्रहार गरे । अन्तिम विकेटका लागि सन्दीपले नोसैना पोकनालाई एक रनमा एलबीडब्लू आउट गरेका थिए । चाद ३३ बलमा १ चौकासहित १७ रनमा नटआउट रहे ।

नेपालका बलरमा सन्दीपले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । विक्रमले ५ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर २ विकेट लिए । स्पिनर कुशलले ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट हासिल गरे । सोमपालले ७ ओभरमा ३७ रन खर्चेर १ विकेट हात पारेका थिए । नेपालले पीएनजीसँग दोस्रो एकदिवसीय खेल शुक्रबार खेल्नेछ ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नुअघि नेपालले तयारीस्वरूप दुई ओडीआई मैत्री खेल खेलेको हो ।

तीन खेलाडीको डेब्यु

पीएनजीविरुद्ध मंगलबार खेल्दा नेपालको तर्फबाट तीन खेलाडीले डेब्यु गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्नेमा विक्रम सोब, कुशल भुर्तेल र आसिफ शेख रहेका छन् । आसिफले विनोद भण्डारीको स्थानमा विकेटकिपिङको भूमिका पाएका हुन् ।