रोनाल्डोको जर्सी बिक्रीले नयाँ कीर्तिमान


लन्डन, (एजेन्सी) ।

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड आबद्ध भएपछि इंग्लिस प्रिमियर लिगमा जर्सी बिक्रीले नयाँ कीर्तिमान बनाएको छ ।

मिडिया रिपोर्टका अनुसार रोनाल्डोको आइकोनिक जर्सी नम्बर ७ को बिक्री म्यानचेस्टर युनाइटेडले रोनाल्डोसँग सम्झौता गरेको घोषणा गरेको १२ घण्टामा कीर्तिमानी बिक्रि भएको छ ।

जर्सीको उत्पादक एडिडासले मागबमोजिम जर्सी पुर्‍याउन नसकेको मिडिया रिपोर्टमा उल्लेख छ । रोनाल्डोले उनको ७ नम्बर जर्सी लगाउने घोषणा गरेको १२ घण्टामा ३२.५ मिलियन पाउन्डको जर्सी बिक्री भएको लभडसेल्स डटकमले उल्लेख गरेको छ । लभडसेल्स डटकमले बेलायतका करिब एक हजार अनलाइन जर्सी बेच्ने रिटेलरको डाटाअनुसार रिपोर्ट प्रकाशित गरेको छ । यस अवधिमा क्लबले २ लाख ९५ हजार जर्सी बेचेको थियो भने यस अवधिमा कुल ४ लाख ६ हजार २५० जर्सी बिक्री भएको बताएको छ ।

यो प्रिमियर लिगमा कुनै बिक्री भएको जर्सीको नयाँ कीर्तिमान भएको बेलायती मिडियाले उल्लेख गरेका छन् । तर, जर्सीको व्यापक बिक्री भए पनि यो रकम भने म्यानचेस्टर युनाइटेडले केवल १० प्रतिशतको हाराहारीमा पाउने विश्लेषकहरूले बताएका छन् । म्यानचेस्टर युनाइटेडले २०१४ मा १० वर्षका लागि ७ सय ५० मिलियन पाउन्डमा एडिडाससँग आफ्नो किट बिक्री सम्झौता गरेको छ ।

त्यस्तै, ८० देखि १ सय १० पर्ने जर्सीबाट युनाइटेडले करिब ५ पाउन्ड मात्र पाउने बताइएको छ । यद्यपि, युनाइटेडलाई विश्वभर उक्त ब्रान्डको मूल्य र लोकप्रियतामा भने व्यापक फाइदा भएको छ । यसबाट युनाइटेडले स्पोन्सर गर्ने ब्रान्डहरूबाट बढी रकम असुल्न सक्ने देखिएको छ ।