जंगली जनावरको आतङ्कले किसान हैरान



विनोदसिंह विष्ट, बैतडी ।

बैतडीमा जंगली जनावरले आतङ्क मच्चाउँदा किसान हैरान भएका छन् । बँदेल, बाँदर, दुम्सीजस्ता जनावरले बालिनाली सखाप पार्न थालेपछि किसान हैरान भएका हुन् ।

दिउँसो बाँदर र राति दुम्सी तथा जंगली बँदेलले मकैबाली तथा अन्य खाद्यबाली र फलफूल, तराकारी नष्ट गर्न थालेको दोगडाकेदार गाउँपालिका–३ का गणेश विष्टले बताउनुभयो । खास गरेर मुख्य खाद्यबालीका रूपमा रहेको मकैबाली जंगली जनावर नष्ट गर्न थालेका हुन् । जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन धौ–धौ परेको किसानहरुले बताएका छन् । ‘पाक्नै लागेको मकैलाई जंगली जनावरहरुले नष्ट गर्न थालेपछि किसानमा चिन्ता थपिएको छ’, उहाँको भनाइ छ– ‘बालिनाली जनावरले खान थालेपछि रात–दिन जाग्राम बस्नुपरेको छ । रातको निद्रा छैन, दिनमा भोक छैन ।’

मकैको घोगा लागेका बेलादेखि नै जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि किसान चिन्तामा परेका हुन् । दुम्सीले लगाताररूपमा केही दिनदेखि मकैबाली नष्ट गर्न थालेपछि बँदेल र दुम्सीलाई कसरी नियन्त्रण गर्ने भनेर किसानलाई पिरोलेको छ । रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल भएको किसान जयसिंह नाथले बताउनुभयो । टहरा बनाएर राति पहरा दिए पनि मकैबाली जोगाउन नसकिएको उहाँको भनाइ छ । ‘रातभर खेतमै बस्नुपरेपछि बाजागाजाका साधनहरु टहरोमै लगेर गीत गाएर बस्ने, थाल ठटाउने गरेका छौं’, नाथले भन्नुभयो– ‘हरेक वर्ष बँदेल धपाउन पहरा दिनुपरे पनि स्थानीय सरकारले यसबाट जोगाउन कुनैै योजना ल्याएको छैन ।’
बाँदर धपाउन सबै काम छोडेर आफूहरुले मकैको गोठालो लाग्नुपरेको अर्का किसान वीरेन्द्र धामी बताउनुहुन्छ । बाँदरले मकैबालीसँगै आँप, अनारलगायतका फलफूल पनि नष्ट पारेको छ । ‘बाँदरको आतंक बढ्दै गएकाले नियन्त्रणका लागि स्थानीयतहले पहल गरिदिनुपर्छ ।’ –उहाँले भन्नुभयो ।

पाटन नगरपालिका–५का किसानको मकैबाली बँदेलले नष्ट गरिदिँदा किसानहरु समस्यामा परेको हीरा पाण्डेले बताउनुभयो । बँदेल धपाउन उनीहरु रातभर वर्षाको समयमा पनि मकैबारीमा बस्न बाध्य छन् । ‘बँदेलको डरले गर्दा घाँस, दाउरा ल्याउनका लागि जङ्गल जान समेत समस्या भएको छ ।’ –उहाँको भनाइ छ ।

वर्षेबाली जंगली जनावारले नष्ट गर्न थालेपछि किसानहरु भोकमरीको समस्या उत्पन्न हुने चिन्तामा रहेका छन् । साँझबिहानको छाक टार्नका लागि लगाएको मकै बँदेलले सखाप पर्दा निकै समस्या हुने देखिएको किसानहरुको भनाइ रहेको छ । विभिन्न रोग तथा कीराबाट बचाएर पाक्न लागेको मकैबाली जंगली जनावरले नष्ट पारेको हो ।

प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि क्षतिपूर्ति पाउन नसकेको किसानहरुले बताएका छन् । स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन् । किसानहरुले वर्षेनी बालीनालीमा क्षति बेहोर्दा समेत सरकारले केही राहत नदिएको किसानहरुको गुनासो छ ।

तर, बाली बिमा गर्न स्थानीय तहहरुले सुझाउने गरेका छन् । कुनै–कुनै स्थानीय तहले बाँदर धपाउनका लागि पड्काउने बन्दुक किनेका छन् भने जंगली बँदेल धपाउनका लागि कुनै विकल्प खोजेको छैनन् । किसानहरुले बँदेललाई मार्नका लागि आग्रह गरेको भए पनि कानुनीरूपमा मार्न नमिल्ने स्थानीय तहहरूले बताउँदै आएका छन् ।

जिल्ला सदरमुकाम रहेको दशरथचन्द नगरपालिकाले भने बाँदर धपाउनका लागि बन्दुक किनेको जनाएको छ । नगर उपप्रमुख मीना चन्दका अनुसार गोली भरेर बाँदरलाई धपाउने मार्ने भन्दा पनि पड्काउनेवाला बन्दुक किनेको र यसको आवाजले बाँदर भाग्छ ।

स्थानीय सरकारहरुले किसानहरुका समस्या समाधान गर्न नसकेको किसान वीरबहादुर टेरले बताउनुभयो । जंगल नष्ट हुँदा खानेकुराको अभावमा जंगली जनावर खेतबारीमा पस्ने गरेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

बैतडीमा १४ हजार ९ सय हेक्टर क्षेत्रफल जमिनमा मकैखेती गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्