परिवर्तनको नाममा नेपालको मूल परम्परामा आघात पुर्याउने काम भयो: राप्रपा नेता लावती


न्युज अफ नेपाल, पाँचथर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले पछिल्लो समय सनातन, आदिवासी धर्म, सँस्कृति, परम्परा माथि आक्रमण भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘परिवर्तनको नाममा नेपालको मूल मूल्य, परम्परा माथि आघात पुर्याउने काम भयो । आदि काल देखिको पहिचान, धार्मिक, साँस्कृतिक धरोहर धूमिल पार्ने कार्य भयो । यसबाट नेपाली समाजको सद्गुण र एकतामा नकारात्मक असर पुगेको छ,’ राप्रपाका कार्य सम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले सोमबार भने ।राप्रपा महाधिवेशन उन्मुख रहेको भन्दै नेता लावतीले महाधिवेशनको बलमा राप्रपा वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित हुने बताए ।

राप्रपा, फिदिम नगरपालिका, वडा नं ३ का अध्यक्ष जयराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न वडास्तरीय भेटघाटलाई सम्बोधन गर्दै युवा नेता लावतीले सो विचार व्यक्त गरेका हुन् ।वडा तहदेखि जारी महाधिवेशनको प्रक्रियाले राप्रपालाई जनताको नजिक लैजाने र यसै अनुरुप राप्रपाले देशव्यापी लहर ल्याउने लावतीले दावी गरे ।राप्रपा अब कहिले नफुट्ने गरी एक भएको भन्दै, एकतावद्ध राप्रपाले राष्ट्रवादी चिन्तन बोकेर राजा सहितको प्रजातन्त्र र सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पूनस्र्थापना गर्ने उनको भनाइ थियो ।महिला र युवामैत्री अवधारणा लिएर राप्रपा अघि बढ्ने उनले भने ।