ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित


लन्डन, (एजेन्सी) ।

विश्वकप छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाको खेल पाँच मिनेट चलेर स्थगित भएको छ ।

दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल) ले विवादित खेल स्थगित गर्ने निर्णय गरेको हो । ब्राजिलमा आइतबार राति भएको खेल पाँच मिनेट चलेपछि विवाद शुरू भएको थियो । पाहुना टोली अर्जेन्टिनाका खेलाडीले कोभिड–१९ को प्रोटोकल तोडेको पुष्टि भएपछि चल्दै गरेको खेल रोकिएको हो ।

खेल शुरू भएर पाँच मिनेट नाघेपछि ब्राजिलियन प्रहरी र स्वास्थ्य मन्त्रालयका अधिकारी खेल रोक्न मैदान प्रवेश गरेपछि तनाव सिर्जना भएको थियो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार अर्जेन्टिनाका चार जना खेलाडीले कोभिड–१९ को प्रोटोकल पालना नगरेको पुष्टि भएको छ । ब्राजिलियन प्रहरीले ती चार जना खेलाडीलाई दिउँसै देश छाड्न निर्देशन दिएको थियो । तर, अर्जेन्टिनाले ती चार खेलाडीलाई ब्राजिलमै राखेर प्रशिक्षण र खेलमा पनि सामेल गराएपछि प्रहरी खेल चल्दै गर्दा मैदानमै प्रवेश गरेको थियो ।

खेल शुरू भएको पाँच मिनेट भएपछि ब्राजिलियन प्रहरी र सरकारी अधिकारी खेल चलिरहेकै अवस्थामा मैदानमा पसेर खेल रोक्न भनेपछि केहीबेर तनाव भयो । सो क्रममा अर्जेन्टिनाका खेलाडी र ब्राजिलियन खेलाडीबीच हात हालाहालकै स्थिति सिर्जना भएको थियो । दुई देशका खेलाडी र अफिसियलबीच दोहोरो झडप हुने भएपछि रेफ्रीले तत्कालै खेल स्थगित गरेको घोषणा गरेपछि दुवै पक्षका अधिकारी छलफलमा जुटेका थिए । एक घन्टासम्म खेल रोकिएपछि कोन्मेबोलले खेल स्थगित गर्ने निर्णय गरेको हो ।

अर्जेन्टिनाका चार जना खेलाडीले ब्राजिल प्रवेश गर्नेक्रममा झुटो बोलेको र ब्राजिल प्रवेश गरिसकेपछि कोभिड–१९ को नियमअनुसार क्वारेन्टाइनमा नबसी प्रशिक्षण र खेलमा सहभागी भएको ब्राजिलियन प्रहरीले पुष्टि गरेको छ । ब्राजिलियन सरकारको नियमअनुसार कोभिडको नियम पालना नगर्ने खेलाडी चार जना छन् । ती सबै खेलाडीलाई ब्राजिलमा रहेर प्रशिक्षण तथा खेलमा सहभागी नहुन र तीन घन्टाभित्रै देश छाड्न प्रहरीले दिउँसै भनेको थियो ।

तर, अर्जेन्टिनाका खेलाडीले त्यसो गरेनन् । जबर्जस्ती टिममा रहेर प्रशिक्षण पनि गरे अनि खेलमा पनि सहभागी भए । अर्जेन्टिनी टोलीले नियम तोड्ने चार जना खेलाडीलाई स्थानीय प्रशासनको आदेशविपरीत खेलाडीलाई खेलमा सामेल गराएपछि खेल शुरू हुनासाथ ब्राजिलका अफिसियलले ती खेलाडीलाई तत्कालै खेल छाड्न साथै तीन घन्टाभित्र देश छाड्न भनेपछि दुई देशका अफिसियलबीच विवाद उत्पन्न भएको थियो ।

यदि, अर्जेन्टिनाका ती चार जना खेलाडीले देश नछाडे प्रहरीले उनीहरूलाई पक्राउ गर्न सक्नेछ । कोभिड–१९ को नियम तोड्ने अर्जेन्टिनी खेलाडीमा रोमेरो, बुएनडिया, गोेलकिपर इमी मार्टिनेज र जिओभानी लो सेल्सो रहेका छन् । हालसम्म स्थगित खेल पुनः कहिले हुन्छ भन्ने विषयमा निर्णय भइसकेको छैन । अन्तर्राष्ट्रिय मिडियाले भने अर्जेन्टिनी खेलाडीले विवाद भएको चार घन्टापछि नै ब्राजिल छाडेको बताइएको छ ।