शेयर बजारमा हरियाली, १६१ अंकले बढ्यो नेप्से



काठमाडौं ।

आइतबार १२७ अंकले घटेको शेयर बजारमा सोमबार हरियाली आएको छ । सोमबार शेयर बजार मापक परिसूचक नेप्से १६१.९४ अंकले बढेको छ । आइतबार नकरात्मक सर्किटसमेत लागेको शेयर बजार सोमबार उत्साहप्रद रुपले बढेको हो । सोमबार नेप्से परिसूचक २९८०.७८ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३१.४१ अंकले बढेर ५५३.४० अंक पुगेको छ ।

सोमबार १३ वटै उप समूहको बजार उकालो लागेको छ । यसदिन ४० वटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने सोही संख्याका कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।२२४ कम्पनीका १ करोड ६९ लाख २२ हजार ५८८ कित्ता शेयरको किनबेच भएको छ । सोमबार ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका २२४ कम्पनी मध्ये ८ वटा कम्पनीको मूल्यमात्र घटेको छ । ती कम्पनीको मूल्यमा १ प्रतिशतकोमात्र गिरावट आएको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर शेयर बजारमा नकरात्मक असर पर्ने नीति नबनाउन निर्देशन दिएका थिए । उनले शेयर लगानीकर्ताको मनोबल घट्ने नीति नबनाउन भन्दै जसरी हुन्छ शेयर बजारको समस्या समाधान गर्न भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्