पोर्चुगलद्वारा कतार पराजित


लन्डन, (एजेन्सी)  ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोर्चुगलद्वारा आगामी वर्षको विश्वकप फुटबलको आयोजक राष्ट्र कतार पराजित भएको छ ।

शनिबार राति भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले कतारलाई उसैको घरेलु मैदानमा ३–१ गोल अन्तरले हराएको हो । प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो अनुपस्थित पाहुना टोली पोर्चुगलका लागि तीन जना फरक–फरक खेलाडीले गोल गरे । पोर्चुगलका लागि पहिलो गोल खेलको २३औं मिनेटमा युवा फरवार्ड आन्ड्रे सिल्भाले गरेका थिए । उनको गोलमा जोआ मारियोले असिस्ट प्रदान गरेका थिए । त्यसलगत्तै अर्को मिनेटमा युवा खेलाडी ओटिभो इडमिल्सन डा सिल्भा मोन्टेरियोले गोल गरेर पोर्चुगलको अग्रता दोब्बर बनाए । ओटाभाले राष्ट्रिय टिमका लागि पहिलो गोल गरेका हुन् ।

त्यसपछि, घरेलु टोली कतारका लागि खेलको ६१औं मिनेटमा अब्डेलकारिम हसनले गोल गरेर गोलअन्तर घटाए । त्यसपछि खेलको ८८औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत् गोल गरेपछि खेल पोर्चुगलले ३–१ ले जित्यो । कतारका डिफेन्डर बोउलेम खोउखसी खेलको ८८औं मिनेटमा रातो कार्ड पाएर मैदान छाडेका थिए ।