जोकोभिच यूएस ओपनको चौथो चरणमा


न्युयोर्क, (एजेन्सी) ।

विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिच न्युयोर्कमा जारी यूएस ओपन टेनिस प्रतियोगिताको चौथो चरणमा पुगेका छन् ।

सर्बियाका जोकोभिचले जापानका किई निसिकोरीलाई पहिलो सेट गुमाएर पनि पराजित गरेका हुन् । जोकोभिचले सो खेल ६–७, ६–३, ६–३, ६–२ ले जितेका हुन् । यो उनको निसिकोरीमाथि लगातार १७औं जितसमेत हो । उनको अर्को चरणमा अमेरिकाका युवा खेलाडी जोन्सन ब्रुक्सबीसँग सामना हुनेछ ।

जोकोभिच हरेक वर्षमा हुने चार ग्रान्डस्लाम उपाधि स्विप गर्नेतिर अग्रसर भएका छन् । उनले यस वर्षमा सम्पन्न तीन ग्रान्डस्लाम जितिसकेका छन् । उनले फेब्रुअरीमा अस्ट्रेलियन ओपन, जुनमा फ्रेन्च ओपन र जुलाईमा विम्बल्डन जितेका हुन् । यदि, यूएस ओपन जितेमा उनी १९६९ पछि एकै क्यालेन्डरमा चारवटै ग्रान्डस्लाम उपाधि जित्ने पहिलो पुरुष खेलाडी हुनेछन् । सन् १९६९ मा राड लेभरले वर्षका चारै वटा ग्रान्डस्लाम जितेका थिए । महिलातर्फ भने जर्मनीका स्टेफी ग्राफले सन् १९८८ मा चारै वटा ग्रान्डस्लाम उपाधि जितेको कीर्तिमान राखेकी हुन् ।

वाइल्ड कार्डमार्फत प्रतियोगितामा प्रवेश पाएका ब्रुक्सबीले रुसका एस्लान काराटसेभलाई पाँच सेटमा हराएका हुन् । उनले सो खेल ६–२, ३–६, २–६, ६–३, ६–३ ले जितेका हुन् । यो जितसँगै उनी यूएस ओपनअन्तर्गत चौथो चरणमा पुग्ने अमेरिकाका सबैभन्दा कान्छो खेलाडीसमेत बनेका छन् । यसअघि २००२ मा एन्डी रोडिक चौथो चरणमा पुग्ने कान्छो खेलाडी बनेका थिए ।

यस्तै, जर्मन क्वालिफायर खेलाडी ओस्कार ओटे पहिलोपटक ग्रान्डस्लाम प्रतियोगिताको चौथो चरणमा पुगेका छन् । उनले इटालीका एन्ड्रिया सेपीलाई ६–३, ६–४, २–६, ७–५ ले पराजित गरे । उनको अर्को चरणमा भने अर्का इटालियन प्रतिद्वन्द्वी माटियो बेरेटीनीसँग भेट हुनेछ । विम्बल्डनको फाइनलमा पराजित भएका बेरेटीनीले बेलारुसका इल्या इभास्कालाई ६–७, ६–२, ६–४, २–६, ६–३ ले हराएका हुन् ।

यसैगरी, अर्का इटालियन खेलाडी जानिक सिनरले पनि चौथो चरणको स्थान सुरक्षित गरे । उनले फ्रान्सका अनुभवी खेलाडी गाएर मोन्फिल्सलाई पाँच सेटमा पराजित गरेका हुन् । सिनरले अर्को चरणमा जर्मनीका एलेक्जान्डर जेभेरेभसँग खेल्नेछन् । जेभेरेभ उनका प्रतिद्वन्द्वी अमेरिकी खेलाडी ज्याक सक रिटायर्ड भएपछि चौथो चरणमा पुग्न सफल भए । यद्यपि, उनले सो खेलमा ३–६, ६–२, ६–३, २–१ को अग्रता लिएका थिए । ज्याकले थाई इन्जुरी भएको हुँदा खेल परित्याग गर्नुपरेको थियो ।

बार्टी बाहिरिइन्

विश्व नम्बर एक महिला खेलाडी एस्लिग बार्टी न्युयोर्कमा जारी यूएस ओपनबाट बाहिरिएकी छन् । अस्टे«लियाकी बार्टीले निर्णायक सेटमा ५–२ को अग्रता लिए पनि हार आत्मसात् गरेकी हुन् । तर, अमेरिकी खेलाडी सेल्बी रोजर्सले शानदार पुनरागमन गरेर बार्टीको यात्रामा पूर्णविराम लगाइदिइन् । घरेलु दर्शकको समर्थन पाएकी रोजर्सले उक्त खेल ६–२, १–६, ७–६ ले जितेकी हुन् ।

योसँगै विश्व वरियतामा ४३औं स्थानमा रहेकी रोजर्स चौथो चरणमा पुगेकी छन् । रोजर्सविरुद्ध बार्टी यसअघिका पाँचै भिडन्तमा हार बेहोरेकी थिइनन् । छैटौं भिडन्तमा भने बार्टीका लागि निकै निराशाजनक नतिजा निस्केको छ । रोजर्सले अन्तिम १६ चरणमा ब्रिटिस युवा खेलाडी एम्मा राडुकानुविरुद्ध खेल्नेछिन् ।

यसअघि, यूएस ओपन २०१९ की विजेता बियान्का एन्ड्रिस्कुले चौथो चरणमा पुग्न केवल ६७ मिनेट समय लगाएकी थिइन् । क्यानाडाकी एन्ड्रिस्कुले बेल्जियन खेलाडी ग्रित मिनेनलाई ६–१, ६–२ ले हराइन् । उनको अन्तिम १६ चरणमा फ्रेन्च ओपनमा सेमिफाइनल पुगेकी मारिया साकारीसँग हुनेछ ।

ग्रिसकी मारियाले चेक रिपब्लिककी पेट्रा क्विटोभालाई ६–४, ६–३ ले पराजित गरेकी थिइन् । मारिया र एन्ड्रिस्कुले अघिल्लोपटक अप्रिलमा मायामी ओपनमा एक अर्कासँग सामना गरेका थिए । यस्तै, विम्बल्डन फाइनलिस्ट केरोलिना पिलिस्कोभाले अस्ट्रेलियाकी अला टामलानोभिचलाई पराजित गरिन् ।

यसैगरी, टोक्यो ओलम्पिकमा स्वर्णपदक जितेकी बेलिन्डा बेन्चिच पनि चौथो चरणमा पुगेकी छन् । बेन्चिचले अमेरिकाकी जेसिका पेगुलालाई ६–२, ६–४ ले पन्छाएकी थिइन् । स्विट्जरल्यान्डकी बेन्चिचले गत वर्षकी फ्रेन्च ओपन विजेता इगा स्वायटेकसँग प्रतिस्पर्धा गर्नेछिन् ।