तेजको गोलले उर्जा पाएपनि नेपालको हार


नेपाल समाचारपत्र, काठमाडौं ।

तेज तामाङले निर्धारित समय सकिन तीन मिनेट बाँँकी हुँदा गरेको गोलले रंगशालामा उपस्थित दर्शक खुशीले उफ्रेका थिए । घरेलु दर्शकको अपार माया पाएको नेपाली टोलीमा तेजको गोलले उर्जा समेत मिलेको थियो । तर, यसपछि बाँकी तीन मिनेट र थपिएको ५ मिनेटमा नेपालले गोल गर्न नसक्दा भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा २–१ को हार बेहोर्न बाँध्य भयो । यो तेजको राष्ट्रिय टोलीबाट पहिलो गोल समेत हो । यसअघि बिहीबार खेलेको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भारतसँग १–१ बराबरी खेलेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा पहिलो हाफ गोलविहीन सकिएको थियो । पहिलो हाफमा नेपालले १३ औं मिनेटमा गोल गर्ने सुवर्ण अवसर मिलेको थियो । तर, मनिष डाँगीले पेनाल्टी बक्समा पाएको बललाई नियन्त्रणमा लिन ढिलो गर्दा गोल गर्न अक्षम भए । उनले बल लिन ढिलाई गर्दा भारतीय डिफेन्डरको लागि बल क्लियर गर्न प्रयाप्त समय प्राप्त भएको थियो ।

२२औं मिनेटमा पुजन उपरकोटीको प्रहार अकासियो । २३औं मिनेटमा तेजले भारतीय गोलरक्षक अमरिन्दर सिंह अघि बढेको मौकामा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । २८औं मिनेटमा आयुष घलानको क्रसलाई पेनाल्टी बक्समा आशिष लामाले हेडर प्रयास नभेट्दा नेपाल अग्रता लिनबाट चुक्यो ।

तस्वीर : उजोल डंगोल

दोस्रो हाफमा भने भारतले दवाव राखेको थियो । ५३औं मिनेटमा चिङलेनसाना सिंह कोन्सामको क्रसलाई किरणले डाइभ गरेर बचाएका थिए । खेलको ६२ औं मिनेटमा भारत गोल गर्न सफल भयो । सब्सिच्युट खेलाडी फारुकहाजी कासम चौधरीले गोल गरेका थिए । यसको लगतै अन्जन विष्टले गोल गर्ने मौका गुमाउँदा नेपाल खेलमा बराबरी गर्न चुक्यो ।

६८औं मिनेटमा विशाल राई र नवयुग श्रेष्ठको तालमेलको एट्याक पनि खेर गएको थियो । नवयुगले पेनाल्टी बक्स भित्र पाएको अवसरमा गोल गर्न चुकेका थिए । ७४औं मिनेटमा मनिषको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ८०औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले काउन्टर एट्याकमा गोल गरेर नेपाललाई २–० ले पछि धकेले । यो गोल भएपछि रंगशालामा उपस्थित दर्शक घर जान थाले । सुनिलले मध्यभागबाट एक्लै बल अघि बढाउदै नेपाली गोलरक्षक किरणलाई बिट गर्दै गोल गरेका हुन् । तर, ८७औं मिनेटमा तेज तामाङले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । यसपछि पनि केही मौका पाए पनि नेपाल गोल गर्न सफल भएन र खेल हार्न पुग्यो । यो दुई मैत्री खेल मालदिभ्समा हुने आगामी साफ च्याम्पियनसिपको तयारीका लागि खेलिएको हो ।