एकदिन लगानीकर्तालाई डेढ खर्ब नोक्सान



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार नकारात्मक सर्किट लागेको छ । बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको बजारमा दुई घण्टा नबित्दै ५ प्रतिशतभन्दा बढीले गिरावट भएपछि नेप्सेमा नकारात्मक सर्किट लागेको हो । सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि बजार बन्द भएको थियो । तत्पश्चात खुलेको बजार केही सम्हालिन खोजे पनि कारोबार बन्द हुने समयसम्म नेप्से परिसूचक ३ दशमलव ७० प्रतिशत अर्थात १०८ दशमलव २६ अंकले घटेर २८१८ दशमलव ७२ बिन्दुमा झरेको छ ।

शेयर बजारमा गएको ‘भीषण पहिरो’ का कारण लगानीकर्ताले एकै दिनमा झण्डै डेढ खर्ब रुपियाँ गुमाएका छन् । गत हप्ता नेप्से कारोबार बन्द हुँदा ४० खर्ब ८९ अर्ब रुपियाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण आइतबार घटेर ३९ खर्ब ४४ अर्ब रुपियाँको हाराहारीमा सीमित भएको छ। शेयर बजारमा भएको उथलपुथलले नयाँ र साना लगानीकर्तालाई त्रसित बनाएको छ । झण्डै ३३ सयको बिन्दुमा पुगेको परिसूचक पछिल्ला केही साताभित्र घटेर २८ सयमा सीमित रहन गएको छ । शेयर विशलेषकहरूका अनुसार अझै केही साता बजार ‘करेक्सन’ कै स्थितिमा आउन सक्छ । लगानीकर्ताले लाभांश पाउने बेलामा शेयर बजारमा आएको गिरावटलाई कतियले मनोवैज्ञानिक असर भनिरहेका छन् । बजार घट्दै जाँदा शेयर ‘होल्ड’ गर्नुको साटो बिक्री गर्न हतारिएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् शेयर धितो कर्जामा कडाइ गर्दै १२ करोड रुपियाँको ‘क्याप’ लगाइदिएपछि ठूला लगानीकर्ता बजारबाट बाहिरिँदा तरलता बढेकाले साना लगानीकर्र्ताले धान्न नसकेको कारण बजार घट्न पुगेको उनीहरूको भनाइ छ । लगानीकर्ताको लगानी सुरक्षित गर्नका लागि सरकारीस्तरबाट सम्बोधन हुनुपर्ने लगानीकर्ताका प्रतिनिधिहरूको माग रहेको छ । झण्डै डेढ सय अंकको गिरावट भए पनि अन्ततः केही सम्हालिएको बजारमा यस दिन २२३ कम्पनीको ११ अर्ब २४ करोड ३ लाख ९१ हजार रुपियाँमा २ करोड ३० लाख ७९ हजार कित्ता शेयर किनबेच भएको छ । त्यस्तै १४ कम्पनीको मात्र शेयरमूल्य बढेको छ। जसमध्ये सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९७ प्रतिशत बढेको छ।त्यस्तै मनकामना स्मार्ट लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, गुराँस लघुवित्त, माउन्टेन इनर्जी र आईएमई जनरल इन्स्योरेन्सलगायतका कम्पनीको शेयर मूल्य बढेको छ । उता, युनिभर्सल पावर कम्पनी, रिलायन्स फाइनान्स, जानकी फाइनान्स, नारायणी विकास बैंक, नेपाल फाइनान्स, अरुण काबेली, सीईडीबी हाइड्रो, समृद्धि फाइनान्स, गुडविल फाइनान्स, हिमालयन ऊर्जा, आईसीएफसी फाइनान्स र रुरु जलविद्युत्लगायतक दर्जन कम्पनीको शेयरमूल्य १० प्रतिशत घटेको छ ।

आइतबार कारोबार भएका १३ वटै समूहको परिसूचक घटेको छ । जसमध्ये बैंकिङ ४४ दशमलव ५१, व्यापार २१६ दशमलव ६४, होटल तथा पर्यटन १६१ दशमलव २, विकास बैंक ३९४ दशमलव ८, जलविद्युत् २१६ दशमलव ९५, वित्त २३९ दशमलव शून्य ८, निर्जीवन बीमा ५१९ दशमलव ४६, उत्पादन १७५ दशमलव ३२, अन्य ८३ दशमलव १५, लघुवित्त १६२ दशमलव ९५, जीवन बीमा ५११ दशमलव ७८, सामूहिक लगानी कोष शून्य दशमलव ३१ र लगानी ४ दशमलव ८५ बिन्दुले ओरालो लागेको छ ।

त्यस्तै कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको ७० करोड ३३ लाख ३० हजार रुपियाँको शेयर कारोबार भएको छ । साथै हिमालयन डिस्टिलरीको ३० करोड १९ हजार ६२ हजार, नेपाल बैंकको २५ करोड ३१ लाख ९६ हजार, नबिल बैंकको २४ करोड ६५ लाख ४४ हजार र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २१ करोड ९१ हजार ५१ हजार रुपियाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्