कृष्णपुर नगरपालिकाका मेयर र कार्यालय प्रमुखको फोन उठ्दैन

सोवाग्राही र कर्मचारी नै हैरान


हेमन्त पौडेल, धनगढी ।

कृष्णपुर नगरपालिका कञ्चनपुरका मेयर कर्ण हमाल र प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीको फोन उठ्नै छोडेको छ । उनीहरुको फोन नउठ्दा जनताले सास्ती झेल्नुपरेको छ । फोनबाट सोधेरै जानकारी लिन सकिने भएपनि मेयर र हाकिमको फोन नउठ्दा कार्यालयमा पुग्नुपर्ने अवस्था रहेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

मेयर र कार्यालय प्रमुखले प्रयोग गर्ने सरकारी नम्वरमा फोन गर्दा उठ्दैन प्राइवेट नम्वर हामीले पाउँदैनौ त्यसैले सम्पर्कमा कठिनाई हुने गरेको कृष्णपुर ९ राजघाटका दिर्घ अवस्थीले बताउनुभयो । फोन गर्यो फोन उठ्दैन भेट्न कार्यालयमा गयो भेट हुँदैन हामी निकै समस्यामा परेको छौं अवस्थीले भन्नुभयो ।

जनताको सेवामा समर्पित जनप्रतिनिधि मेयरको फोन उठ्दैन हामीले हाम्रा गुनासा कसलाई सुनाउने स्थानीयहरुको प्रश्न छ । कार्यालय प्रमुख भण्डारीले भने कार्यालयमा हुने कमी कम्जोरी मेयरको टाउकोमा हालेर आफू पन्छिने गरेकाछन् । गल्ती भरी जनप्रतिनिधिले गरेको भन्दै आफू बच्ने गरेकाछन् । प्रमुख प्रशासकीय अधिकृत भण्डारीले कार्यालयमा सम्पादन गर्ने कामहरुप्रति जनता खुशी छैनन् । प्रमुख प्रशासकीय अधिकृत भण्डारीले प्रयोग गर्ने सरकारी मोवाईल नम्वर ९८५८७३२१११ कहिल्यै उठ्दैन ।

कहिले स्वीच अफ गरेर राख्ने र कहिले चालु भएपनि फोन नउठाउने गरेकाछन् । कार्यालय प्रमुख भण्डारीको फोन नउठ्दा कार्यालयका कर्मचारी समेत हैरान हुने गरेकाछन् । कहिले काहिँ कार्यालय प्रमुखलाई सोधेर मात्र गर्नुपर्ने काम हुन्छ तर कार्यालय प्रमुखसंग भेट पनि नहुने र फोन पनि नउठाउँदा कार्यालयको काम प्रभावित हुने गरेको कर्मचारीहरुको गुनासो छ ।

मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत दुवै जनता जनताप्रति उत्तरदायी नदेखिँदा नगरपालिकाका जनताले दुःख झेल्नुपरेको छ । खास गरेर जनताका प्रतिनिधि चुनावको बेला जनताको सेवक हुन्छु भन्दै भोट मागेका मेयर हमाल आजभोली आफ्नै दुनियामा रमाउने गरेको गुनासो बढ्दै गरेको छ । जनताको सेवामा भन्दा पनि आफ्नो सुविधामा रमाउने गरेकाछन् ।

केही महिना अघि कैलालीको अत्तरियामा पुगेर मेयर हमालले दारु नदिएको भन्दै होटल मालिकलाई धम्काएको घटना सार्वजनिक भएको थियो । उनी पछिल्लो समयमा विवादमा तानिन थालेका छन् । आफ्नो अनुकुलतामा जेपनि गर्न तयार हुने तर आफ्नो अनुकुलता भएन भने आवश्यक ठाउँको विकास समेत गर्न नमान्ने गरेको स्थानीयको गुनासो छ । यस अघि बाख्रा वितरण देखि लिएर कोभिडको बेलामा आर्थिक अनियमितता गरेको आरोप लाग्दै आएको छ ।

मेयर हमाल र प्रमुख प्रशासकीय अकिृत भण्डारीको मिलेमतोमा नगरपालिकामा आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ । जनताले लगाएको आर्थिक अनियमितताको बास्तविकता बुझ्न करिब एक महिना देखि सम्पर्क गर्न खोज्दा मेयर हमाल र कार्यकारी अधिकृत भण्डारी संग सम्पर्क हुन सकेन । उनीहरुको फोन उठ्दैन र कार्यालयमा भेटन जाँदा भेटनै हुन सकेको छैन ।

मेयरको सचिवालयमा पुगेर मेयरको बारेमा केही प्रश्न उठेकाछन् बास्तविकता बुझ्नु पर्ने छ एक पटक मेयरसावलाई सम्पर्क गराई दिनु भन्दै स्वकीय सचिव गणेश ऐरी संग भनिएपनि कुनै हालसम्म कुनै खवर गरिएको छैन । प्रमुख प्रशासकीय अधिकृत भण्डारी कृष्णपुर नगरपालिकामा आएको एक वर्ष भएको छ ।

उनी आएदेखि कर्मचारीसंगको समन्वयको अभावले कार्यालयको काम पनि प्रभावित हुने गरेको छ । जिल्ला समन्वय समिति कञ्चनपुरमा कार्यरत भण्डारीको सुपको पहाडी जिल्लामा सरुवा भएको अवस्थामा उनले कृष्णपुरमा सरुवा मिलाएका थिए । कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले फोन नउठाउने गरेको विषयमा कञ्चनपुका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेलाई जानकारी गराउँदा त्यसको बारेमा बुझ्ने प्रजिअ पाण्डेको भनाई छ ।