खेलाडीलाई फुटबलमा निःशुल्क प्रवेश


नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट प्लाटेनियम, गोल्ड र सिल्भर कार्ड प्राप्त गरेका खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा निःशुल्क प्रवेश गर्न पाउने व्यवस्था गरेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले शुक्रबार कार्ड प्राप्त गरेका खेलाडीले निःशुल्क प्रवेशको व्यवस्था मिलाउन ध्यानाकर्षण गराएपछि एन्फा त्यसका लागि तयार भएको संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठको नेतृत्वमा संघका अन्य पदाधिकारीको टोलीले एन्फा अध्यक्ष कर्मा छिरिङलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

यसरी कार्ड प्राप्त खेलाडीले दशरथ रंगशालाको साधारण प्यारापिटतर्फ बी १० नम्बर गेटबाट प्रवेश पाउनेछन् । यदि, भीआईपीतर्फ हेर्न चाहने कार्ड रहेका खेलाडीको हकमा भने एन्फाले तोकेको समय अवधिमा पहल गरेमा पासको व्यवस्थासमेत गरिने सहमति भएको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले संघको अनुरोध अनुसार अर्को व्यवस्था नभएसम्मका लागि राखेपले जारी गरेको कार्ड प्राप्त गर्ने खेलाडीलाई निःशुल्क प्रवेश दिइने जानकारी गराए । एन्फाले भविष्यमा खेलमा निःशुल्क प्रवेश गराउने हकमा मापदण्ड तय गर्ने योजना रहेको बताएको छ । महासचिव तुलाधरले अर्को व्यवस्था नहुँदासम्म अहिलेको सहमतिलाई कार्यान्वयन गरिने बताए ।

राखेपले ओलम्पियन, एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेतालाई प्याटेनियम कार्ड वितरण गर्दै आएका छन । त्यस्तै, अफिसियल खेलका पदक विजेता खेलाडीले गोल्ड कार्ड तथा अफिसियल खेलका सहभागीलाई सिल्भर कार्ड प्राप्त गर्दै आएका छन् ।