कार्लोस यूएस ओपनको अन्तिम १६ मा


न्युयोर्क, (एजेन्सी) ।

स्पेनका कार्लोस अल्काराज न्युयोर्कमा जारी यूएस ओपन टेनिस प्रतियोगिताअन्तर्गत अन्तिम १६ मा पुगेका छन् ।

कार्लोसले विश्व वरीयतामा तेस्रो स्थान प्राप्त स्टेफानोस सितसिपासलाई स्तब्ध तुल्याएका हुन् । योसँगै कार्लोस पहिलोपटक ग्रान्डस्लाम टेनिस प्रतियोगिताको चौथो चरणमा पुगेका छन् । १८ वर्षीय युवा खेलाडीले ग्रिक खेलाडीविरुद्ध पाँच सेटसम्म संघर्ष गर्र्दै खेल जितेका थिए । उनले नतिजा ६–३, ४–६, ७–६, ०–६, ७–६ ले आफ्नो पक्षमा पारेका थिए ।

कार्लोसले यसै वर्ष सम्पन्न फ्रेन्च ओपनको फाइनलमा पुगेका सितसिपासविरुद्ध २–१ सेटले अग्रता लिएका थिए । तर, चौथो सेटमा उनले एक गेम पनि जित्न नसकेर ६–० को अंकमा सेट सितसिपासलाई सुम्पेका थिए । पाँचांै तथा अन्तिम सेटमा भने उनले चौथो सेटको खराब खेललाई दोहोर्‍याएनन् । उनले सो सेट टाइब्रेकरमा ७–६ ले हात पारेपछि जित सम्भव भएको थियो । उनले क्वार्टरफाइनल पुग्न जर्मन खेलाडी पिटर गोजोवक्जीकसँग खेल्नेछन् ।

यूएस ओपनअन्तर्गतकै मेन्स सिंगल्स खेलतर्फ भने डानिल मेदभेदेभले जित हात पारे । विश्व वरीयतामा दोस्रो स्थान प्राप्त मेदभेदेभले पाब्लो अन्डुजारलाई सहजै हराएका थिए । उनले अर्को खेलमा ब्रिटिस खेलाडी डान इभान्ससँग सामना गर्नेछन् । रूसी खेलाडी मेदभेदेभले सो खेल ६–०, ६–४, ६–३ ले जितेका थिए । उनी सन् २०१९ को यूएस ओपन फाइनलमा राफाल नाडालसँग पराजित भएका थिए ।

यस्तै, अन्य खेलमा अर्जेन्टिनाका डिएगो स्वार्जम्यानले स्लोभाकियाका एलेब्स मोल्कानलाई ६–४, ६–३, ६–३ ले हराए । उनले चौथो चरणमा बोटिच भान डी जान्डसचल्पसँग खेल्नेछन् । डच म्यान बोटिचले अर्जेन्टिनाका फाकुन्डो बाग्निसलाई ३–६, ६–०, ६–२, ६–२ ले पराजित गरेका थिए ।

महिला सिंगल्सतर्फ चार पटक ग्रान्डस्लाम जितेकी नाओमी ओसाका यूएस ओपनको तेस्रो चरणबाट बाहिरिइन् । जापानी खेलाडीलाई क्यानाडाकी १८ वर्षीया लीला फर्नान्डिजले हराएकी हुन् । जितसँगै लिला पहिलोपटक कुनै पनि ग्रान्डस्लामको चौथो चरणमा पुगेकी छन् । हार बेहोरेकी ओसाकाले आफ्नो रिस पोख्दै र्‍याकेट भाँचेकी थिइन् । उनी सो खेल ७–५, ६–७, ४–६ ले हारेकी थिइन् ।