तेक्वान्दोकी पलेशा जापानमा सम्मानित


नेपाल समाचारपत्र, काठमाडौं ।

टोक्यो पारालिम्पिकमा सहभागी भएकी नेपालकी पलेशा गोवद्र्धनलाई जापानमा शनिबार सम्मानित गरिएको छ ।

जापानमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय समितिले तेक्वान्दो खेलाडी पलेशालाई नगदसहित सम्मान गरेको हो । उनलाई २ लाख ५० हजार दिइएको हो भने उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार रुपियाँ दिइयो । यस्तै, ओलम्पियन दीपक विष्टलाई ४० हजार र नेपालको पारा तेक्वान्दो समितिलाई ५० हजार नगद प्रदान गरिएको हो ।

पलेशाले टोक्योमा जारी पारालिम्पिकअन्तर्गत तेक्वान्दोतर्फ शुक्रबार के ४४ को ५८ केजी मुनिको तौल समूहको रेपेचेजको फाइनल खेलेकी थिइन् । पहिलो खेलमा पराजित भएपछि रेपेचेजमा कांस्य पदकका लागि मौका पाएकी पलेशाले त्यसपछि दुई फाइट जित्दै फाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।

योसँगै ओलम्पिकमा दुई फाइट जित्ने पलेशा पहिलो खेलाडी बनेकी छिन् । प्यारालिम्पिकमा तेक्वान्दो पहिलोपटक तेक्वान्दो समावेश गरिएको थियो । फाइनलमा अन्तिम समयमा उनी १२–९ ले पराजित भएको थियो । पलेशाले एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा भने यसअघि कांस्य पदक जितेकी थिइन् ।