बन्चरेडाँडामा अब फोहोर फाल्न मिल्ने

यस्तो छ फोहोर व्यवस्थापन गर्ने विधि


मधुसूदन रायमाझी, काठमाडौं ।

केही समयदेखि फोहोर व्यवस्थापनको समस्या झेलिरहेको काठमाडौं उपत्यकाको फोहोर अब बञ्चरेडाँडामा फाल्न मिल्ने भएको छ । काठमाडौं उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापन गर्ने उद्देश्यसहित बन्चरेडाँडामा निर्माणाधिन स्यानिटरी ल्यान्डफिल साइटको सेल–१ निर्माण सम्पन्न भएकाले बञ्चरेडाँडामा अब फोहोर विसर्जन गर्न सकिने जनाइएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट आयोजनाका प्रमुख कुमार घिमिरेले सेल–१ सञ्चालन गर्न सकिने गरी तयारी पूरा भएको बताउनुभएको छ ।

धादिङ र नुवाकोट जिल्लाको सीमानामा पर्ने बञ्चरेडाँडामा आधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको ल्यान्डफिल साइटमा सेल–१ बाट निस्किने दूषित पानी जम्मा हुने ट्याङ्की निर्माणको काम सम्पन्न भएसँगै अब फोहोर व्यवस्थापन गर्न मिल्ने शहरी विकास मन्त्रालयअन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागले सेल वान सञ्चालनमा ल्याउन सकिने गरी तयारी पूरा भएको बताएको छ ।

काठमाडौं उपत्यकामा फोहोर उठन नसकेपछि दीर्घकालिन फोहोर व्यवस्थापनका लागि निर्माणाधीन बन्चरेडाँडा ल्यान्डफिल साइटलाई तत्काल सञ्चालनमा ल्याउन प्रधानमन्त्री कार्यालयले निर्देशन दिएपछि विभागले तत्काल काठमाडौं महानगरपालिकासँग समन्वय गरी बन्चरेडाँडामा डिजाइन अप्रेसन म्यानुअलअनुसार फोहोर व्यवस्थापन गर्न तयारी थालेको छ ।

फोहोर व्यवस्थापन गर्दा डिजाइन अप्रेसन म्यानुअलअनुसार मात्र गर्नुपर्नेमा जोड दिँदै उपमहानिर्देशक घिमिरेले भन्नुभयो– ‘वैज्ञानिक प्रविधिको प्रयोग गरेर फोहोर व्यवस्थापन गर्दा बन्चरेडाँडामा ४० वर्षसम्म फोहोर विर्सजन गर्न सकिन्छ ।’

काठमाडौंबाट करिब २ घण्टाको दूरीमा रहेको ल्यान्डफिल साइट हाल फोहोर विर्सजन गरिँदै आएको सिसडोल नजिकै निर्माण भइरहेको छ । निर्माणाधीन ल्यान्डफिल साइटबाट स्थानीयवासीमा दुर्गन्ध फैलिन नदिन अत्याधुनिक प्रविधिको प्रयोग गरिएको बताइएको छ ।

विभाग र लुम्बिनी/कोसी एन्ड न्यौपाने जेभीबीच २०७६ वैशाखमा करिब ३९ करोडमा दुईवटा सेल निर्माण गर्ने सम्झौता भएको झण्डै दुई वर्षपछि एउटा सेलको भने निर्माण सम्पन्न भएको छ । त्यसै गरी, ५१ करोडमा १५ मिटर अग्लो बाँध निर्माण गर्ने जिम्मेवारी पाएको कालिका कन्ट्रक्सनले पनि कामलाई तीव्रता दिएको जानकारी दिँदै विभागले बाँध निर्माणको काम ४० प्रतिशतभन्दा बढी सम्पन्न भएको बताएको छ । विभागले तयार पारेको पहिलो सेललाई सञ्चालनमा ल्याएर सेल–२ र बाँध निर्माणको कामलाई छिटो सम्पन्न गर्ने लक्ष्य लिइएको बताइएको छ ।

निर्माणाधीन केन्द्रको क्षमता झन्डै ५० लाख घनमिटर रहको छ । बन्चरेडाँडामा सरकारले अधिग्रहण गरेको करिब १७ सय रोपनीमध्ये १ सय ४ रोपनी क्षेत्रफलमा रहेको बन्चरेडाँडाको आधार क्षेत्रमा पूर्वाधार निर्माणको काम भइरहेको छ । बन्चरेडाँडामा व्यवस्थित रूपमा फोहोर विर्सजनकै लागि कोल्पु खोलालाई डाइभर्ट गरिएको छ ।

२०७५ मंसिर १७ गते मन्त्रिपरिषद्को बैठकले शहरी विकास मन्त्रालयलाई ल्याडफिल साइट निर्माण गर्ने जिम्मेवारी दिएको थियो । शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले बन्डरेडाँडाको अध्ययन, अनुसन्धान र डिजाइन सम्पन्न गरेर दुई वर्षअघि काम अगाडि बढाएको थियो ।

बन्डरेडाँडामा निर्माणाधीन फोहोर विर्सजन केन्द्र नेपालकै नमुना आयोजना हो । यसबाट देशभरका स्थानीय तहले समेत नयाँ प्रविधि अपनाएर ल्यान्डफिड साइट निर्माण गर्न सक्ने विभागले बताएको छ ।

१३ वर्ष अघिदेखि नुवाकोटको सिसडोलमा काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जन हुँदै आएको छ । उपत्यकाबाट दैनिक करिब १ हजार मेट्रिक टन फोहोर निस्कने गरेको काठमाडौं महानगरपालिकाले बताएको छ ।

यस्तो छ फोहोर व्यवस्थापन गर्ने विधि

काठमाडौं उपत्यकामा संकलन गरिएको फोहोर बोकेर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा पुगेको गाडीको निरीक्षण र तौल मापन गरी सो गाडीमा रहेको फोहोरको तौल यकिन गरेर अनलोडिङ गर्ने स्थलबाट सेल वानमा फोहोर विसर्जन गरिन्छ । खसालिएको फोहोरलाई ल्यान्डफिल क्षेत्रमा रहेको डोजरले मिलाएर खाँद्ने काम गरिन्छ र अन्तिममा १५ सेन्टिमिटर बाक्लो माटोले सो फोहोरलाई पुर्ने काम गरिन्छ ।

यसले फोहोरलाई अन्यत्र छरिनबाट रोक्नुका साथै फोहोरबाट निस्कने दुर्गन्धलाई समेत काम गर्न मद्दत गर्छ । फोहोर कुहिने क्रममा निस्कने दूषित पानीबाट माटो तथा भूमिगत पानी प्रदूषित हुनबाट रोक्न ल्यान्डफिल क्षेत्रको जमिनमा पानी छिर्न नसक्ने गरी ५० सेन्टिमिटर मोटाइको माटो खादिएको छ । सो भन्दामाथि १ दशमलव ५ मिलिमिटर मोटाइको प्लास्टिक बिच्छयाइएको छ । उक्त दूषित पानीे ल्यान्डफिल क्षेत्रमा राखिएको पाइपमार्फत संकलन भई ल्यान्डफिल क्षेत्रमा रहेको लिचेड ट्याङ्कीमा जम्मा हुनेछ ।

पहिलो ट्याङ्कीमा जम्मा हुने लिचेडलाई पम्प गरेर दोस्रो लिचेड ट्याङ्की हुँदै पुनः सेल वानमा पठाइने प्रविधि राखिएको छ । जसले गर्दा दूषित पानी खोलामा मिसिनबाट रोकिनुका साथै फोहोर चाँडो कुहियाउन सहयोग पुग्नेछ । ल्यान्डफिल साइट सञ्चालनमा आएपछि वरिपरिको वातावरणमा पर्न सक्ने प्रभावका बारेमा नियमित अध्ययन तथा अनुसन्धान गर्ने क्रममा भूमिगत पानी, खोलाको पानी, ल्यान्डफिल ग्यासको नियमित अनुगमन गरिने बताइएको छ ।