पर्वत पहिरो अपडेट: मृत्यु हुनेको संख्या ११ पुग्यो, मध्यपहाडी लोकमार्ग खुलाउन एक हप्ता लाग्ने


दुर्गाप्रसाद शर्मा, पर्वत  । 

पर्वतको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।पर्वतको कुस्मा नगरपालिकाको दुर्लुङ्ग, पकुवा, सिल्मी र मोदी गाउँपालिकामा गएको पहिरोमा परेर एकै परिवारका ५ जना सहित ११ जनाको मृत्यु भएको हो ।

पर्वतको दुर्लुङ्गमा पहिरोमा परेर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो । उहाँकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उहाँका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ ।

साथै कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुश र मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेलको मृत्यु भएको हो । साथै पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ । बेपत्ता रहेकी डल्ली पाध्याको समेत शब भेटिएको र सबै शबलाई पर्वत अस्पतालमा पोष्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक शिबराज बुढाथोकीले जानकारी दिनुभयो । जिल्लाका अन्य ठाउँमा दर्जनौ घर भत्किएको उहाँले बताउनुभयो ।
मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा दर्जनौ पहिरो, सडक सुचारु हुन हप्ता दिन लाग्ने

निरन्तरको बर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका दर्जनौ ठाउँमा पहिरो गएको छ । पर्वतको मोदी गाउँपालिकाको पातीचौर देखि कुस्माबजार सम्म दर्जनौ ठाउँमा ठुलाठुला पहिरो गएका कारण यातयात अबरुद्ध भएको छ । पर्वतको कुस्मा नगरपालिका ८ दोबिल्ला र चुवामा गएका पहिरो हटाउन हप्ता दिन लाग्न सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिबराज बुढाथोकीले बताउनुभयो ।

‘दर्जनौ ठाउँमा गएका पहिरो हटाउन दुईतर्फी रुपमा डोजर प्रयोग गर्दा पनि हप्ता दिन लाग्न सक्छ। उहाँले भन्नुभयो ‘ यातयात सुचारु गर्ने प्रयास शनिबार बिहानै देखि शुरु गछौ, बर्षा रोकियो भने केही छिटो पनि हुन सक्छ ।’मध्यपहाडी लोकमार्गको पर्वतको कुस्मा देखि पातीचौर सम्म सडक अबरुद्ध भएपछि पर्वत, बागलुङ्ग, म्याग्दी र मुस्ताङ्गमा बाहिरी जिल्ला संगको सम्पर्क टुट्छ ।