रोनाल्डोको सर्वाधिक गोल गर्ने कीर्तिमान


लन्डन, (एजेन्सी) ।

पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबल म्याचमा सर्वाधिक गोल गर्ने खेलाडी बनेर नयाँ कीर्तिमान बनाएका छन् ।

बुधबार राति भएको युरोपेली समूहको फिफा विश्वकप छनोटको चौथो खेलमा पोर्चुगलले आफ्नो घरेलु मैदानमा पाहुना टोली आयरल्यान्डलाई २–१ ले हराउँदा रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबल म्याचमा सर्वाधिक गोल गर्ने खेलाडी बनेर नयाँ कीर्तिमान बनाएका हुन् । हारको मुखमा पुगेको पोर्चुगललाई रोनाल्डोले अन्तिम समयमा दुई गोल गरेर टिमलाई जित दिलाउनुका साथै नयाँ कीर्तिमानसमेत बनाउन सफल भए ।

अब रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडी बनेका छन् । इरानका लिजेन्ड खेलाडी अली डेईका नाममा रहेको सर्वाधिक १ सय ९ गोलको रेकर्ड रोनाल्डोले विश्वकप छनोटका दौरान तोड्दै आफ्नो नाममा लेखाएका हुन् । ३६ वर्षको उमेरमा रोनाल्डो अब ताजा स्थितिमा कुल १ सय ११ गोलका साथ इतिहासकै एकल सर्वाधिक गोलकर्ता खेलाडी बनेका छन् ।

बुधबारको खेलको १५औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेका रोनाल्डोले अन्तिम समयमा टिमको उद्धार गरेका थिए । उनको पेनाल्टी प्रहार आइरिस गोलकिपरले रोकेका थिए । आफ्नै भूमिमा १–० ले पछि परेर टिम हारको मुखैमा पुगेका बेला रोनाल्डोले ८९औं मिनेटमा सब्सिच्युट खेलाडी गोन्कालो गुडेसको क्रस पासमा हेडिङ गोल गरेर खेल १–१ को बराबरीमा ल्याएका थिए । सो गोलपछि नै रोनाल्डोले अलीको रेकर्ड तोडेका थिए । तर, उनले सो गोलको सेलिब्रेसन भने गरेनन् । त्यसपछि ९६औं मिनेटमा रोनाल्डोले जोआ मारियोको पासमा अर्को हेडिङ गोल गरेपछि खेल पोर्चुगलले २–१ ले जित्यो र रोनाल्डोले पनि आफ्ना नाममा महान् इतिहास रचे ।

यो खेलअघि अली र रोनाल्डोको नाममा संयुक्तरूपमा १ सय ९ गोलको रेकर्ड रहेको थियो । रेकर्ड अब रोनाल्डो एक्लैका नाममा बनेको छ । रोनाल्डोले यसअघि, युरो कप दौरान फ्रान्सविरुद्ध दुई गोल गर्दै अलीको रेकर्डसँग बराबरी गरेका थिए । सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीमा डेब्यु गरेका रोनाल्डोले कुल १ सय ८० खेल खेल्दा अलीका नाममा रहेको रेकर्ड भंग गरेका हुन् ।

रोनाल्डोलाई १ सय ११ गोल गर्न १ सय ८० खेल खेल्नुपरेको हो । इरानका अलीले आफ्नो करिअर दौरान मात्रै १ सय ४९ खेलबाट १ सय ९ गोल गरेका थिए । अलीले एक वर्षमा सर्वाधिक गोल सन् १९९६ मा २२ गोल गरे भने रोनाल्डोले सन् २०१९ मा १४ गोल गरेका थिए ।

कीर्तिमानी गोल गरेपछि गरेको सेलिब्रेसनका कारण भने रोनाल्डोले आगामी एक म्याच खेल्न नपाउने भएका छन् । आयरल्यान्डविरुद्ध दोस्रो तथा विजयी गोल गरेपछि खुसीयाली मनाउनेक्रममा जर्सी खोलेपछि रोनाल्डोले पहेंलो कार्ड पाएका थिए । जारी छनोट चरणमा उनले पाएको यो दोस्रो पहेंलो कार्ड हो । जसका कारण रोनाल्डोले विश्वकप छनोटमा आगामी एक खेल गुमाउने भएका हुन् । उनले सेप्टेम्बर ७ तारिखमा हुने अजरबैजानविरुद्धको खेल गुमाउने पक्का भएको छ ।

नेदरल्यान्डस् बराबरीमा

बुधबार राति नै भएको छनोट चरणको अर्को युरोपियन देश नेदरल्यान्ड्स र नर्वेले भने बराबरीमा खेल टुंग्याए । नर्वेको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली नेदरल्यान्ड्सले पछि परेको स्थितिमा पुनरागमन गरेर हार पन्छायो भने घरेलु टोली अग्रता बचाउन नसक्दा रोकियो ।

घरेलु टोली नर्वेका लागि खेलको २०औं मिनेटमा युवा स्टार अर्लिङ हल्यान्डले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । डीबक्सभित्र पाएको बलमा हल्यान्डले डच टोलीका तीन जना डिफेन्डलाई छक्याएर हलुका टचमा बललाई बार च्यापेर पोस्टको दिशा दिएका थिए । उनको हलुका टच डच गोलकिपरले रोक्न प्रयाससमेत गर्न भ्याएनन् ।

त्यसपछि, पाहुना टोली नेदरल्यान्ड्स खेलको ३६औं मिनेटमा खेलमा फर्कियो । क्रस पासमा डीबक्स भित्रबाट डभी क्लास्सेनले कडा सटमा बललाई सजिलै जाली चुमाएपछि खेल १–१ को बराबरी भयो । सो गोलपछि खेलभरि नै थप गोल हुन सकेन र खेल १–१ को बराबरीमा सकियो । अब यो बराबरीपछि समूह ‘जी’ मा टर्कीको चार खेलपछि ८ अंक भएको छ । नेदरल्यान्ड्स, मोन्टेनेग्रो र नर्वेको भने समान सात–सात अंक नै छ ।

क्रोएसिया र फ्रान्स पनि बराबरीमा

क्रोएसिया र रसियाले गोलरहित बराबरी खेल्दै समान अंक बाँडे । बराबरीको नतिजापछि क्रोएसिया आफ्नो समूहको शीर्ष स्थानमा कायमै छ । अन्य खेलमा अस्ट्रियाले माल्डोभालाई उसैको भूमिमा २–० गोलअन्तरले हरायो भने डेनमार्कले आफ्नै घरमा स्कटल्यान्डलाई २–१ ले हराएर स्वागत गरेको थियो ।

त्यसैगरी, विश्वविजेता फ्रान्स पनि आफ्नो चौथो खेलमा बराबरीमा रोकिएको छ । आफ्नो घरेलु मैदानमा फ्रान्स पाहुना टोली बोस्निया एन्ड हर्जगोभिनासँग १–१ को बराबरीमा रोकिएको हो । फ्रान्सले पहिला गोल बेहोरे पनि पछि पुनरागमन गरेको हो । पाहुना टोली बोस्नियाले खेलको ३६औं मिनेटमा गोल गरेर घरेलु टोलीलाई झट्का दिएको थियो । सो गोल इडेन जेकोले गरेका थिए । उनले डीबक्स बाहिरबाट हानेको शक्तिशाली लो सटले माथिल्लो बार च्यापेर सोझै जाली चुमेको थियो । जेकोको सट फ्रान्सका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन् । तर, उक्त गोल बेहोरेपछि फ्रान्सलाई खेलमा फर्किन भने धेरैबेर लागेन ।

गोल बेहोरेको तीन मिनेटमै फ्रान्स खेलमा फर्कियो । ३९औं मिनेटमा कर्नर किकबाट आएको बलमा फरवार्ड एन्टोनी ग्रिजम्यानले हेडिङमार्फत् जाली चुमाए । उनको हेडिङलाई बोस्नियन गोलकिपरले पोस्ट भित्रबाट हातले बाहिर तानेका थिए । तर, गोल लाइन टेक्नोलोजीले त्यसलाई गोलको मान्यता दिएपछि फ्रान्सले खेल १–१ को बराबरी गर्‍यो ।

फ्रान्स खेलको ५१औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । युवा डिफेन्डर जुलेस कोउन्डे सोझै रातो कार्ड बेहोरेर मैदान छाडेका थिए । फ्रान्स १० खेलाडीमा सीमित भए पनि बोस्नियालाई दबाब बनाउन दिएन । पहिलो हाफमै दुई गोल भएको खेलमा दोस्रो हाफमा दुवै तर्फबाट थप गोल भएन र खेल १–१ मा सकियो । अब यो बराबरीपछि समूह ‘डी’ मा फ्रान्सको चार खेल सकिँदा ८ अंक रहेको छ । युक्रेन ४ अंकसहित दोस्रो स्थानमा छ । फिनल्यान्ड र बोस्नियाको भने समान दुई–दुई अंक छ ।