अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालले पहिलो हाफमा गरेको एक गोलको अग्रता दोस्रो हाफमा बचाउन नसक्दा भारतविरुद्धको खेलमा बराबरी नतिजा आत्मसात गरेको छ ।

भारतविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्री खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले भारतसँग १–१ गोल बराबरी खेल्न बाध्य भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी भएको खेलमा नेपालले पहिलो हाफमा अन्जन विष्टको गोलमार्फत् अग्रता लिएको हो । तर, दोस्रो हाफमा भारतका अनिरुद्र थापाले गोल फर्काएर खेल बराबरीमा पुर्‍याए । यसपछि दुबै पक्षबाट गोल नभएपछि खेलको नतिजा बराबरीमै समाप्त भयो । भारत र नेपालबीचको दोस्रो तथा अन्तिम मैत्री खेल आइतबार हुनेछ ।

नेपालको तर्फबाट २६औं मिनेटमा नै गोल गर्न अवसर भएको थियो । तर, आयुष घलानको क्रसमा नवयुग श्रेष्ठले ठम्याउन नसक्दा पोस्ट एट्याक हुन सकेन । २८औं मिनेटमा पुजन उपरकोटीको प्रहार फितलो बन्यो । ३२औं मिनेटमा प्राप्त फ्रिकिकमा अन्जन विष्टको प्रहार आकासियो ।

यसको चार मिनेटपछि भने अन्जन गोल गर्न सफल भए । उनले विपक्षीका चिनलेनीना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बल नियन्त्रणमा लिएर गोल गरेका थिए । उनले गोलकिपर सन्धुलाई बिट गर्दै आरामका साथ गोल गरेर नेपाललाई अग्रता दिलाएका हुन् ।

दोस्रो हाफमा भने भारतले प्रायजसो बल पोजेसन आफुमा राखेको थियो । ५०औं मिनेटमा गोलकिपर किरण चेम्जोङले गल्ती गर्दा भारतले फ्रिकिक प्रहार पाएको थियो । तर, यो फ्रिकिकलाई किरणले नियन्त्रणमा लिएर खतरा टारेका थिए । ६०औं मिनेटमा भने किरणद्वारा उत्कृष्ट पन्च पनि भयो र गोल पनि भयो । भारतीय कप्तान सुनिल क्षेत्रीले करिब १८ यार्ड टाढाबाट गरेको शसक्त प्रहारलाई किरणले उफ्रेर पन्च गरेका थिए । तर, बल अर्को पोलतिर खसेपछि त्यही रहेका भारतीय खेलाडी अनिरुद्धले भेटाएर गोल गरेका थिए । उनलाई रोक्न नेपाली डिफेन्डर दौडेका थिए, तर उनले पनि अनिरुद्धलाई रोक्न सकेनन् ।

खेल १–१ गोलको बराबरीमा ल्याएपछि दुवै टोलीबाट थप गोल गर्न प्रयास गरे, तर गोल भने भएनन् । यद्दपि ७९औं मिनेटमा मनिष डाँगीको क्रसमा विशाल राईको प्रहार फितलो हुनु पनि नेपालले जित हात पार्न सकेन । उनले पेनाल्टी क्षेत्रमा सुवर्ण अवसर पाएका थिए ।

नितिनको डेब्यु

नितिन थापाले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । नितिनले ८५औं मिनेटमा तेज तामाङलाई सब्सीच्युट गर्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । उनले ‘ए’ डिभिजन टोली च्यासल युथ क्लब, संकटा र मनाङ मस्र्याङ्दी क्लबबाट खेलिसकेका छन् ।

किरणको कीर्तिमान

नेपाली राष्ट्रिय टोलीका गोलकिपर तथा कप्तान किरण चेम्जोङले बिहीबार भारतविरुद्धको खेलमा कीर्तिमान बराबरी गरेका छन् । किरणले पूर्व कप्तान विराज महर्जनको सर्वाधिक क्याप जित्ने ७३ क्यापको कीर्तिमानी बराबरी गरेका हुन् । किरणले सन् २००८ मा एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्ध पूर्व गोलकिपर रितेश थापाको स्थानमा आएर राष्ट्रिय टोलबाट डेब्यु गरेका थिए । उनले आइतबार भारतविरुद्धकै दोस्रो मैत्री खेलमा नेपाली फुटबलरमा सर्वाधिक क्याप जित्ने खेलाडी बन्न सक्ने कीर्तिमान रच्न सक्नेछन् ।