कवाडी बन्दै करोडौंका सवारी


हेटौंडा, (नेस) ।

हेटौंडास्थित मकवानपुर जिल्ला प्रहरी कार्यालय परिसरमा करोडौं मूल्यका सवारीसाधन खिया लागेर बसेका छन् ।

लागुऔषध ओसारपसार, गम्भीर प्रकृतिका घटनामा संलग्न तथा चोरीका ती सवारीसाधन सम्बन्धित मुद्धाको अन्तिम किनारा नलाग्दासम्म प्रहरीकै नियन्त्रणमा रहने र लिलाम सकार्नेहरु नआउँदा ती सवारीसाधन कामै नलाग्ने अवस्थामा पुगेका देखिन्छन् ।

कतिपय सवारीसाधनबारेको मुद्धाको किनारा लागिसक्दा पनि समयमै लिलाम हुन नसक्दा तथा कतिपय सवारीधनी समयमै लिन नआउँदा प्रहरी कार्यालयमै थन्किने गरेका छन् । प्रहरी कार्यालयमा रहेका सवारीसाधनमध्ये कतिपय भारतीय नम्बरका समेत छन् ।

त्यस्ता सवारीसाधनले भरिभराउ हेटौंडा–९ स्थित इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक सेरप तामाङका अनुसार हाइवेको युनिट भएका कारण दुर्घटना बढी हुने र लागुऔषधसहित गाडी नियन्त्रणमा लिने गरिएको छ । कार्यालयमा लागुऔषधसहित नियन्त्रणमा लिइएका गाडी करिब ९० प्रतिशत् रहेको उहाँको अनुमान छ ।

मकवानपुरका प्रहरी एकाईहरुमा नियन्त्रणमा रहेका ठूलो संख्यामा सवारीसाधन त्यसै थन्किएका छन् । अपराध अनुसन्धान तथा कानुन कार्यान्वयनका सिलसिलामा प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनहरु कार्यालयमा खिया लागेका छन् । प्रहरी एकाईंहरुमा पर्याप्त पार्किङ नहु“दा अधिकांश सवारीसाधन निरन्तरको घामपानीका कारण कवाडी बनिसकेका हुन् ।

जिल्ला प्रशासन र जिल्ला अदालतको मातहतमा मूल्यांकन समिति गठन गरी सवारीसाधन लिलाम प्रक्रिया भए पनि सम्बन्धित निकायले चासो देखाएको पाइ“दैन । एक वर्ष अवधिमा जिल्ला अदालत मकवानपुरले सवारीसाधन लिलाम प्रक्रिया अघि बढाउने क्रममा २ पटक सूचना जारी गरेको थियो । तर, कुनै निकाय नआएको अदालतका तहसिलदार तुलसीप्रसाद लामिछानेले बताउनुभयो ।

‘सवारीसाधन बेलैमा लिलाम हुने हो भने लाखौं राजस्व जम्मा गर्न सफल हुने देखिन्छ,’ उहाँले भन्नुभयो–लिलामका लागि मेकानिकल इञ्जिनियरसहित मूल्यांकन समिति बन्छ । तर, मूल्य निर्धारण गर्ने कुरामा समस्या हुने गरेको छ । सवारीहरु लिलामका क्रममा सवारी लिने इच्छुकस“ग मूल्यका विषयमा कुरा मिल्ने नगरेको लामिछानेले जानकारी गराउनुभयो । ‘पुराना सवारीसाधन हुन्छन्, मर्मत गर्नुप¥र्यो, कर तिर्नुप¥यो । त्यसैले त्यसलाई उचित मूल्य कायम गर्न जरुरी छ,’ उहाँले औंल्याउनुभयो ।

जिल्लामा प्रहरीका साना चौकीसम्म सवारीसाधन थन्किएको अवस्था छ । ठूलो संख्यामा २ पांग्रे तथा चारपांग्रे सवारीसाधन लामो समयदेखि थन्किएर बसेका छन् । यसरी थन्किएका सवारीसाधनको अवस्था हेर्दा कुनै नयाँ देखिन्छन् त कुनै वर्षौदेखि थन्किएका देखिन्छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार जिल्लाका प्रहरी कार्यालयहरुमा अधिकांश लागुऔषध, तस्करी, चोरी, प्रहरी चेकका क्रममा छाडेर गएका सवारीसाधन थन्किएर बसेका छन् ।

मुद्धा अनुसन्धानका क्रममा समयमै फैसला नहु“दा सवारीसाधन यसरी रहने गरेको रिमालको भनाइ छ । यसको व्यवस्थापनका लागि यातायात कार्यालयहरुमा सवारीधनीको पहिचान खुलाउन आग्रह गरी जिम्मा लगाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

रिमाल चोरीका सवारीमा इञ्जिन नम्बर र च्यासिस नम्बर परिवर्तन गरिने र हराएका सवारीसाधनको बीमा दाबीपछि बीमाबापत् रकम पाइसकेपछि त्यस्ता सवारी लिन आउने नगरेको बताउनुहुन्छ ।