इन्टरनेट अभावमा अनलाइन कक्षा चल्न सकेन, भौतिक रुपमै खुल्न थाले विद्यालय


दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वत जिल्लामा सदरमुकाम कुश्मा बजारका विद्यालयहरुले अनलाइनका माध्यमबाट पठनपाठन गरिरहेको भए पनि ग्रामीण क्षेत्रका विद्यालयहरु भने बार, कक्षा र तहगत आधारमा भौतिक रुपमा सञ्चालन हुन थालेका छन्।

गाउँमा इन्टरनेटको सुविधा नहुँदा बैकल्पिक शिक्षणको रुपमा अनलाईनबाट कक्षा चलाउन नसकेपछि पर्वतका ग्रामिण क्षेत्रका बिद्यालयहरु भौतिक रुपमा खुल्न थालेका हुन ।

गाउँमा सबै ठाउँमा इन्टरनेटको सुबिधा छैन भने इन्टरनेट भएपनि अभिभावककको आर्थिक अवस्थाका कारण मोबाइल किन्न नसक्ने बालबालिका पठनपाठनबाट बञ्चित भैरहेका थिए । जिल्लाका कतिपय ठाउँमा कोरोना संक्रमण कम भएका कारण आलोपालो गरेर विद्यार्थी बोलाएर शैक्षिक क्रियाकलाप सञ्चालन गर्न थालेको बिद्यालयहरुले जानकारी दिएका छन् ।

फलेवास नगरपालिका–३ शंकरपोखरीको जनसहयोगी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशबहादुर थापाले अनलाइनको सुविधा गाउँमा नभएका कारण स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय खोल्नुको विकल्प नरहेको बताउनुभयो । ‘गाउँमा इन्टरनेटको सुविधा छैन। एउटै घरका तीन जना बच्चाका लागि तीन वटा मोबाइल किनिदिने हैसियत अभिभावकको छैन। फाटफुट चलेका अनलाइन कक्षामा पनि क्यामेरा अफ गरेर विद्यार्थीहरु अरु काममा भुलेको पाइयो’ उहाँले भन्नुभयो ‘सरोकारवाला र शिक्षकहरु बसेर सुरक्षा कायम गर्दै एक दिनमा एउटा तहलाई बोलाउने गरी आलोपालो प्रणालीमा कक्षा सञ्चालन गरिरहेका छौँ।’

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पैयुँ गाउँपालिकाले भने भौतिक रुपमा सञ्चालनमा रहेका सबै विद्यालयहरुलाई बन्द गराएको छ। स्थानीय तहमा संक्रमणको अवस्था कम बन्दै गएपछि तहगत रुपमा बिहान र दिउँसोको सत्रमा विद्यालयहरु सञ्चालनमा रहेको भए पनि जिल्ला प्रशासन कार्यालयले विद्यालय बन्द गर्न निर्देशन दिएपछि अहिले विद्यालयहरु भौतिक रुपमा बन्द रहेको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले बताउनुभयो । ‘हामीले १०–१५ दिन जति सिफ्टअनुसार विद्यालय सञ्चालन गरेका थियौँ। तर, प्रशासनबाट भौतिक रुपमा पठनपाठन नगर्न भनेपछि अहिले रोकेका छौँ’ उहाँले भन्नुभयो ‘वैकल्पिक सिकाई सहजीकरणको लागि तोकिएका अन्य विकल्पहरु प्रयोग गरेर विद्यार्थीको सिकाइमा निरन्तरता दिनका लागि विद्यालयहरुलाई भनेका छौँ।’

सदरमुकाम कुश्मा बजार र आसपासका क्षेत्रमा भने ग्रामीण क्षेत्रको तुलनामा इन्टरनेटको उपलब्धता सहज भएका कारण धेरै विद्यार्थीहरु अनलाइन कक्षामा जोडिन पाएका छन्। त्यसमा पनि सदरमुकामका विद्यालयमा विद्यार्थीको चाप धेरै भएका कारण आलोपालो गर्दा पनि विद्यालयमा निकै भिड हुने अवस्था रहेका कारण अनलाइन नै उत्तम विकल्प रहेको सदरमुकामको नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द पोखरेलले बताउनुभयो ।