ग्रिजम्यान एट्लेटिकोमा फर्किए


लन्डन, (एजेन्सी) । 

युरोपेली फुटबलमा हुने समर ट्रान्सरको अन्तिम दिन बार्सिलोनाका स्ट्राइकर एन्टोनी ग्रिजम्यान एट्लेटिको मेड्रिडमा फर्किएका छन् ।

३० वर्षीय ग्रिजम्यानलाई एट्लेटिकोले एक वर्षका लागि लोनमा फर्काएको हो । यसअघि, सन् २०१४ देखि २०१९ सम्म एट्लेटिकोमा रहेका ग्रिजम्यानले टोलीका लागि दुई सय ५७ म्याच खेल्दै एक सय ३३ गोल गरेका थिए । उनी सन् २०१९ मा एक सय २० मिलियन युरोमा बार्सिलोना गएका थिए । बार्सिलोनामा ग्रिजम्यानले एक सय दुई म्याच खेल्दै ३५ गोल गरे । यस सिजन बार्सिलोनामा तीन म्याच खेलेका उनी गोलविहीन बने । बार्सिलोनामा मेसीको छायाँमा परेका ग्रिजम्यानले मेसीले छाडेपछि उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको थियो । तर, डच स्ट्राइकर मेम्फिस डिपाए यसै सिजन बार्सिलोना आएपछि ग्रिजम्यान फेरि डिपाएको छायाँमा परे ।

कप्तान लियोनल मेसी पीएसजी गएको दुई सातापछि फ्रेन्च स्टार एन्टोइन ग्रिजम्यान पूर्वक्लब एट्लेटिको मेड्रिड फर्किएका छन् । एट्लेटिकोले अन्तिम समयमा आफ्नो पूर्व स्ट्राइकर ग्रिजम्यानलाई अनुबन्ध गरेको हो । ग्रीजम्यानको आगमनले साविक विजेता एट्लेटिकोलाई ठूलो राहत मिलेको छ । रोजाइका स्ट्राइकर लुइस स्वारेज घाइते भएका कारण ग्रिजम्यानले उनको स्थान लिने विश्वास गरिएको छ । उरुग्वेली स्टार स्वारेज आइतबार भिल्लारियलविरुद्धको खेलमा घाइते भएका थिए । देब्रे घुँडामा चोट बोकेका स्वारेज दुई साता मैदानबाहिर रहने एट्लेटिकोले जनाएको छ ।

स्वारेजले गोल गरेको उक्त खेलमा एट्लेटिको २–२ गोलको बराबरीमा रोकिएको थियो । स्वारेज गत सिजन बार्सिलोनाबाटै एट्लेटिको आएका हुन् । एट्लेटिकोलाई ला लिगा उपाधि जिताउन ३४ वर्षीय स्वारेजको उल्लेख्य भूमिका रहेको थियो । यसपटक एट्लेटिकोलाई उपाधि रक्षा गर्न स्ट्राइकिङ लाइनमा जोआओ फेलिक्स, एन्जल कोरेआका र म्याथिस कुन्हाको बलियो साथ छ । त्यसैले, ग्रिजम्यानलाई यिनैसँग टिक्नुपर्ने चुनौती छ ।

यसपटक वित्तीय अवस्था खराब भएको बार्सिलोनाबाट जारी सिजन ११ जना खेलाडीले क्लब छाडेका छन् । बर्सिलोनाले ग्रिजम्यानसँगै रक्षक एमर्सन रोयल र मिडफिल्डर इलाइस मोरिवालाई पनि बेचेका छन् । लोनमा बेटिसमा रहेका एमर्सन प्रिमियर लिग क्लब टोट्टनह्यााम र मोरिवा जर्मन क्लब लेइप्जिग गएका छन् ।

युरोपेली फुटबलमा खेलाडीको ‘समर ट्रान्सर’ मंगलबार रातिबाट सकिएको छ । यसपटक ला लिगाको समर ट्रान्सर बजार विगतको जस्तो तातेन । ला लिगा मात्र होइन, कोरोना महामारीले समग्र युरोपेली फुटबललाई शिथिल बनायो । जसले गर्दा क्बलहरूले खेलाडीका लागि चर्को मूल्य खर्च गर्न रुचि देखाएनन् । समर ट्रान्सरको अन्तिम दिनसम्म पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवास्टार क्लियन एमबाप्पे खुबै चर्चामा रहे । एमबाप्पेलाई अनुबन्ध गर्न रियल मेड्रिडले विन्डो ट्रान्सफरको अन्तिम समयसम्म प्रयास जारी राखेको थियो । तर, रियलको तीन पटकसम्मको प्रस्तावलाई पीएसजीले अस्वीकार ग¥यो ।

एमबाप्पेका लागि पहिलोपटक एक सय ६० मिलियन युरो प्रस्ताव गरेको रियलले दोस्रोपटक एक सय ७० मिलियन युरो खर्चन तयार भएको थियो । पीएसजीले त्यसमा पनि कुनै रुचि नलिएपछि एमबाप्पेका लागि तेस्रोपटक समेत मोटो रकमको प्रस्ताव राखेको रियल अन्तिमसम्म सफल बन्न सकेन । पीएसजीले एमबाप्पेलाई क्लबमै राख्न चाह्यो । २२ वर्षीय एमबाप्पे पीएसजी छाड्न चाहन्थे । टोलीमा बार्सिलोनाका कप्तान लियोनल मेसी भित्रिएपछि एमबाप्पेको पीएसजीप्रति अरुचि बढेको थियो । तर, रियलले एमबाप्पेलाई क्लबमा अनुबन्ध गर्ने चाहना यसपटक अधुरै बन्यो । पीएसजीमा एक वर्ष सम्झौता बाँकी रहेका एमबाप्पे अर्को सिजन फ्री ट्रान्सफरमा रियलमा नै जाने योजनामा छन् ।