नेपालले जितका लागि खेल्ने


काठमाडौं, (नेस) ।

भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण फुटबल खेलमा नेपाली टोलीले जितका लागि खेल्ने र गर्व गर्नलायक प्रदर्शन गर्ने नेपली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन् ।

नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेलको पहिलो खेल बिहीबार साँझ दशरथ रंगशालामा हुँदैछ । खेलको अघिल्लो दिन बुधबार प्रि–म्याच कन्फ्रेन्समा बोल्दै अलमुताइरीले भने–‘समर्थकका लागि खुसी होइन गर्व गर्न लायक प्रदर्शन गर्नेछौं । हामी इतिहास हेरेर होइन भविष्यका लागि खेल्नेछौं ।’ अलमुताइरीले भारतविरुद्ध नेपालको विगतमा राम्रो नतिजा नभए पनि त्यसले असर नपर्ने बताए ।

भारतीय फुटबल टोलीका प्रशिक्षक इगोर स्टिमाच र कप्तान सुनील क्षेत्रीले भने नेपालविरुद्ध खेल सहज नहुने बताएका छन् । कप्तान सुनीलले भने, ‘नेपालसँग खेल्न सधैं कठिन हुन्छ । हामीले पछिल्लोपटक सन् २०१५ मा विश्वकप छनोट खेल्दा गोलरहित बराबरीमा टुंगिएको थियो । त्यो खेलमा पनि हामीलाई सहज थिएन ।’ पछिल्लोपटक खेलेको भन्दा टोलीमा केही परिवर्तन देखिए पनि नेपाल जहिले चुनौतीपूर्ण रहँदै आएको सुनीलले बताए ।

सुनीलले मैत्रीपूर्ण खेल आयोजना र व्यवस्थापनका लागि एन्फा र नेपाल सरकारलाई पुनः धन्यवाद दिए । उनले नेपालमा आफ्नो मामाघर र पुर्खा रहेका कारण पनि भावनात्मक रूपमा केही नजिक रहेको स्वीकारे । तर, खेल मैदानमा पसेपछि भने खेलमा त्यसले असर नगर्ने उनको बुझाइ छ ।

भारतीय टोलीका प्रशिक्षकले पनि कोरोनाका कारण उत्पन्न कठिन परिस्थितिमा पनि मैत्रीपूर्ण खेलको अवसरका लागि खुसी रहेको भन्दै धन्यवाद दिएका छन् । उनले आउने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेलले फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीलाई मानसिकरूपमा बलियो बनाउँदै बुबाजस्तो व्यवहार गरेको बताएका छन् । भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलमध्य बिहीबार हुने पहिलो खेलअघि बोल्दै कप्तान किरणले टोलीको तयारी राम्रो रहेको बताए । ‘१३ वर्ष राष्ट्रिय टोलीको अनुभवमा धेरै प्रशिक्षकसँग काम गरे । हामी पहिला शारीरिकरूपमा मात्र बलिया थियौं, अहिले हामीलाई उहाँले मानसिकरूपमा पनि बलियो बनाउनुभएको छ । हाम्रो प्रशिक्षक मात्र होइनन्, बुबासमान व्यवहार गर्नुहुन्छ । टोलीको मनोबल पनि उच्च छ ।’

नेपाल र भारतबीच ६ वर्षपछि पहिलोपटक दशरथ रंगशालामा खेल हुँदैछ । खेल साँझ ५ः३० बजे शुरू हुनेछ । एन्फाले सीमित दर्शकलाई प्रवेश दिनका लागि सरकारबाट स्वीकृति लिएको बताएको छ । कोरानाविरुद्धका दुवै खोप लगाइसकेका वा सो नभएमा पीसीआर नेगेटिभ आएकालाई मात्र दशरथ रंगशालामा प्रवेश दिने एन्फाले बताएको छ । एन्फाले ५ हजार १ सय दर्शक प्रवेशका लागि सरकारसँग स्वीकृति मागेको जनाएको छ ।

तथ्यांकमा भारतविरुद्ध नेपाल

नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार घरेलु मैदानमा छिमेकी मुलुक भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । माल्दिभ्समा हुने आसन्न साफ च्याम्पियनसिपको तयारीका लागि दुवै देशले मैत्रीपूर्ण म्याच खेल्न लागेका हुन् । सोही प्रतियोगिता र मैत्रीपूर्ण खेलका लागि नेपाली टीमले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेतृत्वमा बन्द प्रशिक्षण गरिरहेको छ । त्यस्तै, भारतका मुख्य प्रशिक्षक इगोर स्टिम्याकको नेतृत्वमा भारतीय टिम कोलकतामा १५ दिनको प्रशिक्षण शिविरपछि नेपाल आइसकेको छ ।

चिरपरिचित प्रतिद्वन्दी भारत र नेपाल विगतमा १९ पटक एक अर्काविरुद्ध मैदान उत्रदाँ भारतले १३ पटक जितेको छ । नेपालले दुईपटक जितेको छ, भने चार खेल बराबरीमा समाप्त भएका छन् । अन्तिमपटक यी दुवै पक्ष जुन ६, २०१७ मा मुम्बईको फुटबल एरिनामा एक अर्काविरुद्ध मैदान उत्रदाँ भारत २–० ले विजयी भएको थियो । सो खेलमा भारतका लागि सन्देश झिंगन र जेजे लालपेखलुआले गोल गरेका थिए ।

त्यस्तै, नेपालले विश्वकप क्वालिफाएर प्ले–अफ को दोस्रो लेगअन्तर्गत २०१५ मार्च १५ मा भारतलाई दशरथ रंगशालामा स्वागत गर्दा दुवै देशले गोलरहित बराबरी खेलेका थिए । आठ अन्तर्राष्ट्रिय खेलहरूमा ५ गोल गरेका सुनील क्षेत्री नेपालविरुद्ध सर्वाधिक गोल गर्ने भारतीय खेलाडीसमेत हुन् ।