स्थानीयसँगको सहमतिपछि फोहोर उठ्न थाल्यो

दीर्घकालीन समाधानको माग


ईश्वरराज ढकाल, काठमाडौं ।

महानगरीय प्रहरी वृत्त बालाजुमा स्थानीय र काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागसँग भएको १४ बँुदे सहमतिपछि हिजो बुधबारबाट उपत्यकाको फोहोर उठ्न थालेको छ ।

स्थानीयसँग मंगलबार राति भएको सहमतिमा १५ दिनभित्र तीनपिप्ले–सिसडोल सडक ग्राभेल गरी तत्काल टेन्डर गरी कालोपत्रे गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीसाधनले लिचेड बक्सको व्यवस्था गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीलाई बिहान ४ देखि दिउँसो ४ बजेसम्म मात्र अनुमति दिने व्यवस्था गर्नुपर्ने र त्यसका लागि टाइम कार्डको व्यवस्था गर्नुपर्ने, तीनपिप्ले–सिसडोल खण्डको जग्गाको कित्ताकाट गरी मुआब्जा दिने विषयमा कामपा मेयरसँग छलफल गर्नेलगायत रहेको छ ।

त्यस्तै, फोहोर ढुवानी गर्ने सवारीसाधन सफा गरेर मात्र पार्किङ गर्नुपर्ने, स्थानीय प्रभावित क्षेत्रका विद्यालय र संघ संस्थालाई खेलकुद व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने, महालक्ष्मी मन्दिर क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने, सवारी चालकको स्वास्थ्य परीक्षण गर्नुपर्ने र सडक छेउमा वृक्षरोपण गर्नुपर्नेमा पनि सहमति भएको छ ।

करिब एक महिनासम्म फोहोर उठ्न नसकेर राजधानी काठमाडौंसहित २० स्थानीय तह दुर्गन्धित भएपछि सरकारको ध्यानाकर्षण भएको थियो । फोहोर व्यवस्थापनमा समस्या देखिएपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्नुभएपछि प्रधानमन्त्री देउवाले सरोकारवाला निकायलाई तत्काल समस्या समाधान गरी फोहोर व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो ।

मंगलबार दिउँसो कामपासहित काठमाडौंको जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयका प्रमुख, सडक विभागका उच्च अधिकारी र सरोकारवाला निकायबीच बसेको बैठकले काठमाडौंमा थुप्रिएको फोहोर बुधबारबाट उठाउन शुरू गर्ने निर्णय गरेको थियो ।

त्यसपछि महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख श्रेष्ठ, सिसडोल ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठ, कामपा वातावरण विभागका सब–इन्जिनियर उद्धवराज नेपाल र स्थानीय सिसडोलवासीसहितको बैठकले १४ बुँदे सहमति गरेपछि बुधबार बिहानैबाट फोहोर व्यवस्थापन शुरू भएको थियो । कामपा वातावरण विभाग प्रमुख हरीकुमार श्रेष्ठले सहमतिलगत्तै फोहोर व्यवस्थापन शुरू भएको जानकारी दिनुभयो । बैठकले यसअघि कामपासँग भएको १७ बुँदे सम्झौता कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको छ ।

त्यस्तै फोहोर ढुवानी गर्ने सवारीसाधन सफा गरेर मात्र पार्किङ गर्नुपर्ने, स्थानीय प्रभावित क्षेत्रका विद्यालयल र संघसंस्थालाई खेलकुद व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने, महालक्ष्मी मन्दिर क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने, सवारी चालकको स्वास्थ्य परीक्षण गर्नुपर्ने, सडक छेउमा वृक्षरोपण गर्नुपर्ने सहमति भएको थियो ।

कामपा मेयर विद्यासुन्दर शाक्यले हिजोबाट नियमितरूपमा फोहोर बिसर्जन हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘वातावरण अनुकूल भइसकेको छ । स्थानीय जनताले व्यवधान नगरेमा उपत्यकाको फोहोर केही दिनभित्र व्यवस्थापन गर्नेछौं ।’ उहाँले स्थानीय प्रशासनको सहयोगमा आवश्यक जनशक्ति परिचालन गरी फोहोर व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो ।

सिसडोल ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले कामपासँग सवारीसाधनको कमी भएकाले राजधानीको फोहोर व्यवस्थापन गर्न कम्तीमा तीन साता लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘विभागसँंग फोहोर व्यवस्थापन गर्न ३० वटा सवारी छन्, तीमध्ये हाल करिब १० वटा मात्र सञ्चालनमा भएको कारण समय बढी लाग्न सक्छ ।’ उहाँले पहिलो चरणमा सडकको फोहोर व्यवस्थापन गरेपछि टेकुस्थित सेनेटरी ल्यान्डफिलको फोहोर लैजाने बताउनुभयो ।

सेनेटरी ल्यान्डफिलमा करिब ५ सय ट्रक फोहोर थुप्रिएको छ । उहाँले सबै स्थानीय तहको फोहोर व्यवस्थापन गर्दा महानगरलाई समस्या पर्ने बताउनुभयो । सबैको फोहोर एउटै ल्यान्डफिल साइटमा विसर्जन हुने भएकाले राजधानीको फोहोर व्यवस्थापनमा केही दिन ढिलो हुन सक्ने श्रेष्ठको भनाइ छ ।

सिसडोल ल्यान्डफिल साइटमा दैनिक करिब १ सय ५० ट्रक फोहोर विसर्जन हुने गरेको छ । विभागका अनुसार दैनिक करिब १ हजार टन मात्र फोहोर विसर्जन गर्न सकिने जनाएको छ ।

दीर्घकालीन समाधानको माग

बञ्चरेडाँडा र सिसडोल ल्यान्डफिल साइटको दीर्घकालीन समस्या समाधान गर्न माग गर्दै स्थानीय जनताले मुख्य सचिव शंकरदास वैरागीसमक्ष आफ्नो योजना पेस गरेका छन् ।

बञ्चरेडाँडा र सिसडोल ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन उपसमितिका संयोजक श्रीराम ढुंगानासहितको टोलीले मुख्य सचिव वैरागी, प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना, सडक विभागका महानिर्देशक अर्जुनजंग थापालगायतको टोलीसँग भेट गरेको थियो ।

टोलीले वर्षौंदेखि रोकिएको भौतिक निर्माण र विकास परियोजनालगायतका काम तत्काल शुरू गर्न आग्रह गरेको थियो । भेटका क्रममा मुख्य सचिव वैरागीले समितिले पेस गरेको प्रस्तावअनुसार काम अघि बढाउन प्रधानमन्त्री कार्यालयका आर्थिक तथा भौतिक पूर्वाधार महाशाखाका सचिव शिशिर ढुंगानालाई निर्देशन दिनुभएको थियो ।

समितिले फोहोरमैला व्यवस्थापन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, फोहोर विर्सजन हुने ल्यान्डफिल साइटलाई मानवरहित क्षेत्र बनाउने परियोजना सञ्चालन गर्नुपर्ने, कोल्पुखोलालाई निर्मलीकरण गर्नुपर्ने, फोहोरबाट मल निर्माण गर्नेगरी कम्पोस्ट मल उत्पादन गर्ने उद्योग स्थापना गर्नुपर्ने, वातावरणीय अध्ययन केन्द्र स्थापना गर्नुपर्नेलगायतका योजना पेस गरेका थिए ।

संयोजक ढुंगानाले सिसडोल ल्यान्डफिल साइटलाई हरियाली क्षेत्रका रूपमा लैजान तत्काल पहल गर्नुपर्नेलगायतका योजना पेस गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘वर्षौंदेखि रोकिएको काम शुरू गर्न प्रम कार्यालय सकारात्मक देखिएको छ । यसले गर्दा सो क्षेत्रको विकासमा टेवा पुग्ने आशा राखेका छौं ।’ संयोजक श्रीराम ढुंगानाले आफूहरूले प्रम कार्यालयबाट करिब एक साताभित्र परियोजना कार्यान्वयन गर्न समिति गठन गर्ने आश्वासन पाएको पनि बताउनुभयो ।