निषेधाज्ञा अझ खुकुलो, सिनेमा हल पनि खोलिने


नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौं उपत्यकामा ५ महिनादेखि जारी निषेधाज्ञालाई अझ खुकुलो बनाइएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरूको बुधबार बसेको बैठकले निषेधाज्ञालाई अझ खुकुलो बनाउन विभिन्न आदेश जारी गरेको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर क्रियाकलाप सञ्चालन गर्न सकिने मोडालिटीमा आदेश जारी गरिएको छ ।

तीनवटै जिल्लाका प्रशासनले ‘निषेधाज्ञा’ शब्दलाई हटाएर आदेश जारी गरेका हुन् । ती आदेशहरू आज बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुनेछन् । निषेधाज्ञा हटाउँदा पनि शैक्षिक संस्था खोल्ने वा नखोल्ने विषयमा अस्पष्ट निर्णय गरेको पाइएको छ । कोरोना सक्रंमण दरलाई विश्लेषण गरेर विद्यालयबारे यस्तो निर्णय लिइएको निरौलाले बताउनुभयो । उहाँका अनुसार निषेधाज्ञामा गर्न नहुने भनेर लेखिएकाबाहेक अन्य व्यवसाय सञ्चालन गर्न सकिनेछ ।

त्यस्तै, पसल, रेस्टुराँ, होटललगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ । ढुवानीको हकमा भने प्रशासनले समयसीमा तोकेको छ । स्थानीय ढुवानीको हकमा बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेको समयसीमा तोकिएको छ । सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानीका लागि भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री ढुवानी गर्न पाउनेछन् ।

बैठकले सिनेमा हल भदौ १७ गते बिहीबारबाट खोल्न दिने निर्णय गरेको छ । यो निर्णयसँगै मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, ब्युटी पार्लर, सैलुनलगायतका अहिलेसम्म बन्द रहेका व्यवसाय सञ्चालन हुने भएका छन् ।

सर्वसाधारण, समूह तथा संस्थालगायतका निकायबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्दा स्वास्थ्यको मापदण्डको अनिवार्य पालाना गर्नुपर्ने आदेशमा उल्लेख छ । आदेशमा जनस्वास्थ्यको मापदण्ड पालना गरिएको÷नगरिएको विषयमा अनुगमन गरिने पनि उल्लेख छ । त्यस्तै, आदेशमा भनिएको छ– ‘अनुगमनका क्रममा यस आदेशका अवज्ञा भएको पाइएमा कोभिड–१९ संकट व्यवस्थापन आदेश–२०७८ अनुसार कारबाही हुनेछ ।’

यसैबीच बैठकपछि काठमाडौं जिल्ला प्रशासनले जारी गरेको आदेशमा भदौ १७ देखि भदौ ३१ गतेसम्म लागू हुनेगरी शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने उल्लेख छ । आदेशमा भौतिक उपस्थितिमा पठनपाठन गर्नुपर्ने भएमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर स्थानीय तहहरूले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सक्ने भनिएको छ । सरकारले कोरोना संक्रमणको दर, संक्रमणको उतारचढाव, नयाँ संक्रमणको संख्या, अस्पताल भर्ना प्रतिशत, मृत्युदरलगायत सूचकको आधारमा संक्रमणको चुनौतीलाई वर्गीकरण गरी वर्गीकरणअनुसार विद्यालय खोल्ने तयारी गरिरहेको सन्दर्भमा यस्तो निर्णय गरिएको हो ।

मानिसहरू जम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस गर्न, जात्रा, भोज, महोत्सव गर्न नपाउने प्रावधान भने यथावत नै राखिएको छ । चाडपर्व मनाउँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम मानिसहरू मात्र जम्मा भएर मनाउन आदेशमा भनिएको छ ।