प्रदेश १ मा १० प्रदेशसभा सदस्यले रोजे नेकपा (एकीकृत समाजवादी)


मोरङ, ।
प्रदेश नं १ मा नेकपा एमालेका १० जना सदस्य नेकपा (एकीकृत समाजवादी)रोजेका छन् । उहाँहरुले आज प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्नुभएका हुन् ।

प्रदेशसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य राजेन्द्र राईको नेतृत्वमा सनाखत गर्नेमा राजन राई, गणेशकुमार काम्बाङ्ग, सरिता थापा, सावित्रादेवी रेग्मी, खिनु लङ्वा (लिम्बू)पदमकुमारी गुरुङ, सुनिताकुमारी चौधरी, उपेन्द्रप्रसाद घिमिरे र कृष्णकुमारी राई रहनुभएको छ ।

सनाखत कार्य यही भदौ २२ गते ५ बजेसम्म हुने र त्यससम्बन्धी सम्पूर्ण कागजात केन्द्रीय निर्वाचन आयोगमा पठाउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिनुभयो । सो अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेकपा एकीकृत समाजवादी नेता राजेन्द्र राईले वर्तमान सरकार अल्पमतमा परेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।

उहाँले भदौ २२ गतेसम्म थप सातदेखि आठ जना सदस्यले नेकपा (एकीकृत समाजवादी) मा आउने दाबी गर्दै भदौ २३ गतेपछि सरकार निर्माणको प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो । नेता राईले प्रदेशका गठबन्धन दलबीचको आपसी सहमतिमा मुख्यमन्त्री चयन गरिने भएकाले सङ्घीय सरकारको कुनै हस्तक्षेप नहुने बताउनुभयो । सनाखत कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तामा ठूलो समूह उपस्थित थियो ।