काठमाडौंमा निषेधाज्ञा खुकुलो: स्थानीय तहले डीसीएमसीसँग समन्वय गरी विद्यालय खोल्न पाउने


न्युज अफ नेपाल , काठमाडौं ।

जिल्ला प्रशासनले कार्यालय काठमाडौंले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ। बिहीबारदेखि लागू हुनेगरी भदौ मसान्तसम्म थपिएको निषेधाज्ञा खुकुलो पारिएको हो।

काठमाडौंँमा स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)सँग विद्यालय खोल्न पाउने भएका छन् । जिल्ला प्रशान कार्यालयले विहीबारदेखि स्मार्ट लकडाउनको मापदण्ड पालना गरी विद्यालय खोल्न स्थानीय तहले डीसीएमसीसँग समन्वय गर्न सक्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा विद्यालयबाहेक अरु क्षेत्र स्वास्थ्यका मापदण्ड पालना गरेर खोल्न अनुमति दिइएको छ। चाडपर्व मनाउन छुट दिइएको छ।प्रशासनले शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन र अनावश्यक भिडभाड गर्नबाहेक अन्य क्षेत्र खुला गरेको हो । पछिल्लो निषेधाज्ञामा चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मनाउन भनिएको छ।

त्यसैगरी स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायतका निकायबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्न पाउने भनिएको छ। स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्मबाहेक गर्न पाउने भनिएको छ। सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने भनिएको छ। प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमण दर स्थिर रहेकाले निषेधाज्ञा केही खुकुलो बनाइएको बताए।