मुगुको सोरु गाउँपालिकामा अझै पनि बजेट पेस हुन सकेन


वीर बहादुर बम,मुगु ।

जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकामा अझै पनि बजेट पेस हुनसकेको छैन । चालु आर्थिक वर्षको बजेट पेस नहुँदा सेवा प्रवाह र विकास निर्माणका काम अन्योलमा परेको छ । गत २० असारमा आठौ गाउँसभा उद्घाटनका क्रममा जनप्रतिनिधिबीच विवाद भएपछि गाउँसभा अन्योलमा भई हालसम्म पनि बजेट पेश हुननसकेको हो  ।

विवादका कारण स्थगित भएको गाउँसभा कहिले बस्ने अझै निश्चित छैन । बजेट बाँडफाँट नहुँदा वडादेखि गाउँपालिका स्तरमा छनोट भएका दर्जनौ योजनाले गति लिन सकेका छैनन् ।असार मसान्तपछि अहिले जनप्रतिनिधि र केही कर्मचारी कार्यालयविहीन भएका छन् भने केही कर्मचारी जिल्ला बाहिर छन् ।स्थानीय तह सञ्चालन ऐनअनुसार १५ असारभित्र गाउँसभा सञ्चालन गरी आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिसक्नुपर्ने व्यवस्था छ ।

तर सोरु गाउँपालिकाले तोकिएकै मितिमा गाउँसभा सञ्चालन नगर्दा बजेट पेश हुन सकेको छैन ।बजेट पेस नहुँदा वडास्तरमा छनोट भएका योजना अघि बढाउन समस्या भएको वडा नम्बर ८ का वडाअध्यक्ष जनक रावलले बताए ।जिल्लाका मुगु मकार्मारोङ, खत्याड गाउँपालिका र छायानाथ रारा नगरपालिकाले भने चालु आर्थिक वर्षको बजेट पास गरी योजना सम्झौताको काम सुरु गरेका छन् ।

विभिन्न कारणले बजेट बाँडफाँटमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । केही जनप्रतिनिधि पनि जिल्ला बाहिर हुनुहुन्छ, अध्यक्ष शाहीले भने, नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि गाउँसभाको आयोजना गरी बजेट पेस गरिनेछ ।सोरुमा ४ वर्षको अवधिमा ५ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।

राजनीतिक खिचातानीले गाउँपालिकामा हरेक वर्ष प्रशासकीय अधिकृत फेरबदल हुँदा दैनिक, प्रशासनिक र विकास निर्माणका योजना प्रभावित हुँदै आएको छ ।नयाँ प्रशासनिक अधिकृत लालबहादुर मल्ल आऊन् ढिलाइ भयको आब शुरु भयको २ महिना बित्न लाग्दा र जननिर्वाचित पदिधिकारिको समयाबधि सकिनै लाग्दा बजेटको अत्तोपत्तो नहुदा उदारोमा बिकासको काम गराउनु परेको सोरू गाउँ पालिकाकि उपाध्यक्ष राज्यलक्ष्मि बमले बताईन ।