सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ स्थगित


न्युज अफ नेपाल, काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेको रिटको सुनुवाइ स्थगित भएको छ । सापकोटा विरुद्धको अदालतको अवहेलना र द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने गरी पेशीमा चढेको थियो ।

माओवादी द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा २०६८ सालमा मुद्दा परेको थियो ।अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए । यस्तै पत्रकार कनकमणि दीक्षितले अवहेलना सम्बन्धी मुद्दा दायर गरेका थिए । यी तीनवटै मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुने आदेश भएको थियो ।

ती मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफूसहित न्ययाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधनिक इजलास गठन गरेका थिए ।तर, बुधबार सुनुवाई हेर्न नमिल्नेमा राखिएको छ । के कारणले हेर्न नमिल्नेमा राखिएको हो भन्ने केही आदेश भएपछिमात्र जानकारी हुने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।